भदौ १२, काठमाडौं । रसुवाको भीषण बाढीमा परी गम्भीर घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।
ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार बाढीमा परी गम्भीर घाइते भएपछि डंगोललाई सुरुकै दिन उपचारका लागि केन्द्र ल्याइएको थियो। उनको अवस्था सुरुदेखि नै गम्भीर रहेको र शरीरभर गहिरो चोट लागेकाले आइसीयूमा राखेर उपचार गरिएको थियो। शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भएको निरौलाले जानकारी दिए।
बाढीपछि रसुवा र नुवाकोटलगायत प्रभावित क्षेत्रबाट उद्धार गरी घाइतेहरूलाई काठमाडौं ल्याइएको थियो। साँझ साढे ५ बजेसम्मको विवरणअनुसार हालसम्म ३८ जना घाइते उपचारका लागि अस्पताल भर्ना भएका छन्। तीमध्ये २१ जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ भने थप उपचारका लागि एक जनालाई वीर अस्पताल रिफर गरिएको छ।
ट्रमा सेन्टरका अनुसार हाल उपचाररत घाइतेमध्ये दुई जना एचडीयूमा र १३ जना आपतकालीन तथा वार्डमा रहेका छन्। घाइतेमध्ये अधिकांशको शरीरका विभिन्न भागमा चोट लागेको छ भने केहीको अवस्था सामान्य र केहीको अवस्था स्थिर रहेको छ।
बाढीपछि ल्याइएका घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेर अस्पतालले आवश्यक व्यवस्थापन गरिरहेको सूचना अधिकारी निरौलाले बताए।







