१६ भदौ, काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबारको भोटेकोशी बाढीपछि माटोमुनि पुरिएकी ६ वर्षीया बालिकालाई ६२ घण्टापछि जीवितै उद्धार गरिएको छ।
बाढी आएको ६२ घण्टा बितिसक्दा बालिका जीवित भेटिने आशा धेरैले गुमाइसकेका थिए। उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट ‘ममी, ममी’ भन्ने आवाज सुनेपछि खोजी थाल्यो र बालिकालाई सुरक्षित बाहिर निकाल्यो। यो घटना नेपालको आपत्कालीन उद्धार इतिहासमा स्मरणयोग्य बनेको छ।
यसरी भयो उद्धार
उद्धार टोलीको नेतृत्व गरेका सशस्त्र प्रहरी बल नेपालको २० गण (विपद् उद्धार गण), सिनामंगल, काठमाडौंका निरीक्षक सन्जु खत्रीका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै टोली पाँच मिनेटमै स्ट्यान्डबाई भएको थियो। करिब एक घण्टाभित्र हेलिकप्टरमार्फत टोली रसुवाको धुन्चे पुग्यो र त्यहाँबाट टिमुरेतर्फ लाग्यो।
खत्रीसहित ५० जनाको टोली घटनास्थल पुगेको थियो। तीमध्ये विशेष विपद् उद्धार तालिम प्राप्त ९ जना कर्मचारी टिमुरेमा खोज तथा उद्धार कार्यमा खटिए।
उद्धार टोलीको पहिलो प्राथमिकता जीवित पीडितलाई सुरक्षित निकाल्नु थियो। त्यस क्रममा टिमुरेमा फसेका करिब ३५० जनालाई हेलिकप्टरबाट धुन्चे पुर्याइयो। उनीहरूमा मानसरोवर जाने भारतीय तीर्थयात्रु र चिनियाँ नागरिकसमेत थिए।
बाढी आएको करिब ६२ घण्टापछि खोजतलास गर्दै गर्दा टोलीले बालिकाको आवाज सुन्यो। ‘ममी, ममी’ भनेको आवाज सुनेपछि खोजी सोही ठाउँतिर केन्द्रित गरियो। त्यसबेला त्यहाँ माटो र काठले पुरिएको थियो, सतहमा केही देखिने अवस्था थिएन। आवाजकै आधारमा पहिचान गर्दै खोजी गर्दा करिब ६ वर्षकी बालिका सुरक्षित भेटिइन्।
बालिका भेटिएपछि धुन्चेस्थित गुल्ममा खबर गर्न खोजिए पनि सञ्चार सुविधा उपलब्ध थिएन। टोलीका सदस्य करिब आधा घण्टा माथि उक्लिएर रेडियो सेटमार्फत सूचना पठाउन सफल भए। तर मौसम खराब भएका कारण त्यस दिन बालिकालाई हेलिकप्टरमार्फत लैजान सकिएन।
बालिकालाई सुरक्षित राखेर टोलीले स्याहार गर्न थाल्यो। रातभर दुई जना सदस्य उनको हेरचाहमा खटिए। बिस्तारै उनी सचेत हुँदै कुरा गर्न थाले पनि निकै आत्तिएकी थिइन्।
खत्रीका अनुसार सबैभन्दा ठूलो चुनौती बालिकालाई सुरक्षित रूपमा अस्पताल पुर्याउनु थियो। भोलिपल्ट बिहान पनि मौसम खराब रह्यो। दिउँसो साढे १ बजेतिर मात्र हेलिकप्टर उड्न सक्यो र बालिकालाई काठमाडौंको अस्पताल लगियो।
धेरै कठिनाइका बाबजुद बालिकाको ज्यान बचाउन सफल भएपछि उद्धार टोली निकै खुसी भएको खत्रीले बताए।







