मुख्य सामग्रीमा जानुहोस्

टेस्ला चढ्ने सपना र खेतीको धैर्य: किसानको विकास कसरी मापन गर्ने ?

राम्रो जागिर, सुविधासम्पन्न कार र अग्लो घरलाई विकास मान्ने चलनले नेपालको कृषि र प्रकृतिमाथि दबाब बढाएको छ । एलन मस्कको टेस्ला चढ्ने सपना किसानसम्म पुर्‍याइँदा खेतीकर्मको मर्म ओझेलमा पर्ने खतरा छ ।

विश्वपत्र संवाददाता

· ४ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
टेस्ला चढ्ने सपना र खेतीको धैर्य: किसानको विकास कसरी मापन गर्ने ?
Online Khabar

राम्रो जागिर, मनग्य आम्दानी, सुविधासम्पन्न कार, अग्लो घर, ठूला कलकारखाना, द्रुत इन्टरनेट र नयाँ स्मार्टफोनलाई आज विकासको मापदण्ड मानिन्छ । यी सबै सुविधा हरेक घर र ढोकामा पुर्‍याउन सबै आतुर छन् । तर यो साँच्चिकै विकास हो त ? आठ अर्ब मानिस बस्ने पृथ्वीमा यस्तो विकास सम्भव छ ? र यो कसको, कस्तो मूल्यमा हासिल हुन्छ ? यी प्रश्नको जवाफ खोज्दा विकासको चलनचल्तीको अर्थ आफैंमा प्रश्नचिह्न बन्छ ।

नेपालको सन्दर्भमा यो बहस झन् जटिल छ । विकसित हुने हतार छ, तर अपेक्षा असीमित छन् । अन्यत्रको भौतिक चमकधमक देखेर प्रभावित हुँदा त्यो कसरी सम्भव भयो भन्ने बुझ्नेतर्फ भने ध्यान गएको छैन । यसले हामीलाई दुईतर्फी दबाबमा राखेको छ ।

दुई दबाब

पहिलो दबाब छिटो विकासको हो । विकासकै नाममा परिभाषित गरिएको गरिबी हटाउनुपर्ने र युवालाई रोजगारी दिनुपर्ने बाध्यता छ । यही बाध्यताले ठूला कलकारखाना, ठूला बाँध, ठूला सडक र ठूला शहरतिर धकेलेको छ । तर यसका लागि हाम्रो भूगोल, अर्थतन्त्रको जग र स्रोतको उपलब्धता पर्याप्त छैन ।

दोस्रो दबाब निरन्तर दोहनबाट क्षतविक्षत बनेको प्रकृतिको संरक्षणको हो । हिमाल, नदी र जैविक विविधता हाम्रो पहिचान हुन् र विश्वले नेपाललाई प्रकृतिको देशका रूपमा चिन्छ । तर जलवायु सङ्कट हिमताल र नदीको बाटो हुँदै बस्ती र खेतबारीसम्म पुगिसकेको छ । यो क्रम रोकिने संकेत छैन ।

हालको हरित ग्यास उत्सर्जनले निम्त्याउने बाढी, खडेरी र हिमताल फुट्ने जस्ता जोखिमको असर कल्पनाभन्दा विकराल हुनेछ, जसको मूल्य आउने पुस्ताले तिर्नुपर्नेछ । अघिल्ला पुस्ताले बिगारेको हावा, पानी र माटोको असर अहिले नसर्ने रोगका रूपमा भोगिइरहेको छ भने प्रयोग गरिएका रसायन, प्लास्टिक र हर्मोनको हिसाब आउने सन्ततिले बुझाउनुपर्नेछ ।

अहिलेसम्मको विकासक्रमले पहिरो निम्त्याएको, नदीमा अति उत्खनन गरेको, भूजल घटाएको र काठमाडौं उपत्यकासहित मलिला फाँटलाई कङ्क्रिटको जङ्गल बनाएको छ । यही लय कायम रहे के हुन्छ ? विगत आठ दशकमा कहिले एशियाली मापदण्ड, कहिले स्विट्जरल्यान्ड र कहिले सिङ्गापुरको लहड चल्यो, तर यी सब किन सकिएनन् भन्ने प्रश्न भने कहिल्यै गम्भीर रूपमा उठेन ।

किसानको जवाफ

यसको एउटा झट्ट उदाहरण एउटा गाउँको प्रसङ्गमा भेटिन्छ । एक कृषि प्राविधिकले एक किसानलाई आधुनिक खेतीतर्फ उत्प्रेरित गर्दै कृषि विकासले किसानको जीवन नै कायापलट हुने लामो कुरा सुनाए । किसान सहमत भएनन् । त्यसपछि प्राविधिकले सम्भावित आम्दानीको फेहरिस्त पेश गर्दै राम्रोसँग खेती गरे वर्षको १० लाख सजिलै कमाउन सकिने बताए ।

त्यो सुनेर किसानलाई झोंक चल्यो र उनले प्राविधिकको वार्षिक तलब कति हुन्छ भनेर सोधे । प्राविधिकले अक्मकाउँदै त्यस्तै ५ लाख जति हुने जवाफ दिए । किसानले थपे — त्यसो भए त खेती गरेर दोब्बर फाइदा हुने रहेछ, आफैं खेती गर्नुहोस् न त सर ।

यो काल्पनिक कथा होइन, नेपाली समाजकै यथार्थ हो । यहाँ खेतीपाती गर्न अर्ती दिने धेरै भेटिन्छन्, आफैं अँट्ने भने विरलै ।

टेस्ला कृषकको भ्रम

यही विकासे सोच अहिले संसारका धनी व्यक्तिको सूचीमा रहेका एलन मस्कको कम्पनी टेस्लाले बनाएका स्वचालित कारतिर मोडिएको छ । ती कार विश्व बजारमा चर्चित छन् र काठमाडौंमा पनि यस्ता कार चढ्ने धङधङी बोक्नेको कमी छैन ।

हुनेखानेका लागि यो आकर्षण स्वाभाविक लाग्न सक्छ, तर किसानको सन्दर्भमा टेस्ला चढ्ने कुरा कति स्वाभाविक होला ? एआई र अल्गोरिदमको लतमा फसेका तथा आजै पैसा कमाएर सबै रहर पूरा गर्न हतारिएका जमातलाई भने यो सामान्य लाग्न सक्छ ।

किसान भने उत्पादनका स्रोत–साधनको सहज पहुँच, बजारमा पहुँच र सरल प्रविधिको खोजीमा छन् । घामपानी नभनी रातदिनको पसिना बगाएर गुजारा चलाइरहेका उनीहरू आफ्नो र आउने सन्ततिको भविष्यको जोखिमबाट बच्न सामाजिक सुरक्षा खोज्दै छन् । तर खेतीपाती नगर्ने टाठाबाठा भने देशको कृषि कमजोर भएको चिन्ता गर्दै आफ्नो दुनो सोझ्याउने दाउमा किसानलाई टेस्लाको सपना देखाइरहेका छन् ।

खेतीपाती घाँस नखाने र बच्चा नजन्माउने यान्त्रिकीकरणको बाटो होइन; यो सामाजिक उद्यम र जीवन अस्तित्वको आधार हो । पैसा फलाउने औद्योगिक व्यापारको ढाँचाले खेतीपाती सप्रने कुरा छैन । वास्तविक किसानमा टेस्ला चढ्ने रहर हुँदैन र यस्तो रहर राख्नेले वास्तविक खेतीपाती गर्दैन । किसान प्रकृतिमा रमाउने सामाजिक उद्यमी हुन्, जसको ठाउँ टेस्ला कृषकले लिन सक्दैनन् ।

यो भेद नबुझ्दा खेती गरेर कार चढ्ने सपना पत्याइन्छ, र यस्तै भ्रमपूर्ण सपना बाँड्नेहरू आफैं टेस्ला चढिरहेका छन् । यसमा बिचौलिया र कृषि उद्योगीहरू थपिन्छन् । झापाका उर्वर धानखेतदेखि मनाङ–मुस्ताङका स्याउबारी र काभ्रे–धादिङका गोठबारीसम्म श्रम गर्ने कम भेटिन्छन्; पुर्खाको थातथलो र मलिलो माटो बाँझो छाडेर खाडी वा शहर पसेका युवा यस्तै सस्तो लोकप्रियता र बजारिया सपनाको शिकार भएका छन् ।

किसानका लागि २ करोडको सहुलियत ऋण, कृषिको यान्त्रिकीकरण, मल कारखाना र अर्गानिक निर्यातजस्ता विषयलाई पनि टेस्ला चढ्ने किसान बनाउने साधनका रूपमा हेरिँदै आएको छ । तर धैर्य माग्ने खेतीकर्म र टेस्ला चढ्ने अधीर मानसिकताबीच कुनै साइनो छैन । प्रकृतिका सीमा हुन्छन् र आफ्नै सुस्त तथा स्वाभाविक लय हुन्छ । छिटो, धेरै र सस्तोको दौडले थाकेको मानिसले देखेको टेस्ला सपना मृगतृष्णा हो ।

किसानको पुनर्परिभाषा

खाना विना जीवन सम्भव छैन भन्ने सबैलाई थाहा छ, तर व्यवहारमा त्यो चेत देखिँदैन । साँझबिहान खाने खाना कस्तो छ भन्ने हेक्का नभएकालाई त्यो उत्पादन गर्ने माटो र बोटबिरुवाको हाल के छ भन्ने पत्तो हुने कुरै भएन । बहुसंख्यक किसानको दैनिकी कसरी चलिरहेको छ भन्ने हेक्का पनि त्यसै गरी हराउँदै गएको छ ।

अहिलेका नीति, योजना र कार्यक्रम खेतीपातीको गलत बाटो फेर्नेतर्फभन्दा किसानको सपनाको टेस्ला गुडाउने बाटो फराकिलो बनाउनतिर केन्द्रित देखिन्छन् । प्रकृतिसँगको सहकार्य, माटोको पुनरुत्थान र रैथाने ज्ञानको पुनर्जागरणबिना खाद्य सुरक्षा सम्भव छैन । केही थान टेस्ला कृषक उम्रिएला र फुल्लान् पनि, तर त्यसले खेतीपाती उन्नत भई खाद्य सुरक्षा हुने होइन ।

पृथ्वी र खेतीपाती जोगाउने हो भने खेतीकर्म र यो कर्म गर्ने सामाजिक उद्यमी किसानको परिभाषा नै फेर्नुपर्छ । किसानलाई शिक्षा, स्वास्थ्य र वृद्धावस्थाको सामाजिक सुरक्षा दिन सके मात्र आउने पुस्तालाई खेतीमा टिकाउन सकिन्छ । खेतीपाती प्रकृतिको पुनरुत्पादन चक्रसँग जोडिने जीवनपद्धति हो — यो कटु सत्यमाथि प्रश्न उठाउन ढिला भइसकेको छैन ।