समाजवादका सम्बन्धमा समाजमा देखिएका भ्रम चिर्ने उद्देश्यले जागरण अभियान सञ्चालन गरिएको झलनाथ खनालले जानकारी दिएका छन् । नेपाली समाजको विशेषता अनुकूलको समाजवादको ठोस स्वरूप निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल आफ्नो उत्पत्तिकालदेखि अहिलेसम्म विकास हुँदै आएको ऐतिहासिक प्रवाह, देशको राजनीतिक तथा आर्थिक विकासक्रम, सांस्कृतिक विकासको धारा र समग्र राष्ट्रिय विकासको प्रवृत्तिबाट अनिवार्य रूपमा निस्कने परिणति नै नेपाली विशेषता अनुरूपको समाजवाद हो भन्ने व्याख्या–विश्लेषण गर्दै त्यसलाई मूर्त रूप दिन आवश्यक रहेको खनालले औंल्याए ।
समाजवादको नारालाई आजको पुस्ताले विकृत वा भद्दा ठट्टाका रूपमा व्याख्या गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले विगतको अवस्था सम्झिए । २०६२–६३ को परिवर्तनसम्म जनवादको विषयमा मात्रै बढी चर्चा हुने गरेको र समाजवादलाई भविष्यको कुरा भन्दै आइएको उनको भनाइ छ ।
संविधानको भाग चारको सन्दर्भ
त्यसपछिको क्रान्तिले ल्याएको परिवर्तनसँगै अब समाजवादतर्फ लाग्ने बेला भएको निष्कर्ष निकाल्दै संविधानसभाबाट निर्मित संविधानमा समाजवाद उन्मुख भएर अघि बढ्ने र समाजवादी अर्थतन्त्र निर्माण गर्ने कुरा समेटिएको खनालले बताए । संविधानको भाग चारमा यी विषयको व्याख्या समेत गरिएको उनले उल्लेख गरे ।
तर वास्तविक समाजवादको स्वरूप र त्यसको ठोस पक्ष के हो भन्ने विषयमा अब आवश्यक ध्यान दिनुपर्ने जिम्मेवारी कम्युनिस्ट पार्टीकै भएको खनालको भनाइ छ ।







