रौतहटको गरुडामा एक युवकले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका छन्। गरुडा नगरपालिका वडा नम्बर ९ गम्हरियाका २८ वर्षका गौतमकुमार सहनीले गएराति करिब १ बजे आफ्नो शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।
घटना घटेलगत्तै उनलाई स्थानीयवासी र प्रहरीको सक्रियतामा गरुडाकै एक अस्पतालमा प्राथमिक उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं नायब उपरीक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीमुनिको भाग जलेको छ। उनको शरीरको करिब ३१ प्रतिशत भाग आगोले प्रभावित भएको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ।
घटनाको कारण अज्ञात
स्थानीय देवेन्द्र सहनीका छोरा गौतमकुमारले के कति कारणले यस्तो कदम चालेका हुन् भन्ने विषयमा अझै स्पष्ट हुन सकेको छैन। घटनाको विषयमा थप खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले उल्लेख गरेको छ।






