ऐतिहासिक लिगलिगे दौडको आयोजकत्वमा विवाद चुलिएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले दौड नगर्न आग्रह गरेको छ । सुरक्षा चुनौती औँल्याउँदै प्रशासनले पालुङटार नगरपालिकाको आयोजनामा हुने दौड रोक्न आग्रह गरेको हो ।
बुधबार साँझ दुवै पक्षलाई पत्राचार गर्दै प्रशासनले विवादका कारण कार्यक्रममा सुरक्षा निकाय सहभागी गराउन नसकिने र पर्याप्त सुरक्षा व्यवस्था समेत गर्न नसकिने जनाएको छ ।
आयोजकत्वको विवाद
परम्परागत रूपमा लिगलिगकोट विकास अभियानले आयोजना गर्दै आएको दौडमा पालुङटार नगरपालिकाले आफ्नो अपनत्व जनाउन खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको हो । आफैँ आयोजक हुनुपर्ने अडान दुवै पक्षले राखेका छन् ।
यसअघि पनि नगरपालिकाले आफैँले अपनत्व लिएर दौड सञ्चालन गर्ने निर्णय गरेको थियो । तर लिगलिगकोट विकास अभियानले अवरोध गरेपछि विगत दुई वर्षदेखि दौड हुन सकेको छैन । यस वर्ष पनि नगरपालिकाले दौड गर्न लागेपछि अभियानले अवरोध सिर्जना गरेको हो ।
नगरपालिकाले असोज २९ गते दौड तय गरेको छ भने अभियानले असोज ३० गते लिगलिगे दौड आयोजना गर्ने जनाएको छ । दुई पक्षबीचको छलफलमा सहमति जुट्न नसकेपछि प्रशासनले दौड नगर्न आग्रह गर्दै दुवै पक्षलाई पत्राचार गरेको हो ।







