मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपीडितको भविष्य अन्योलमा : ५० दिन बित्दा पनि स्थायी बसोबासको टुंगो छैन

भोटेकोशी बाढी आएको ५० दिन पुग्दा पनि विस्थापित टिमुरेबासीको पुनर्स्थापना अनिश्चित छ । अस्थायी सेल्टरमा बसिरहेका पीडितले तीन तहका सरकार पछिल्ला दिनमा सम्पर्कमा नदेखिएको गुनासो गरेका छन् । कागजातविहीन बनेका पीडितका…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीपीडितको भविष्य अन्योलमा : ५० दिन बित्दा पनि स्थायी बसोबासको टुंगो छैन
Online Khabar

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले विस्थापित बनाएको रसुवा टिमुरेका बासिन्दाको भविष्य अझै अन्योलमा छ । बाढी आएको ५० दिन बितिसक्दा पनि स्थायी बसोबासको टुंगो नलागेपछि काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बाको अस्थायी सेल्टरमा बसिरहेका पीडितको चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ ।

उक्त सेल्टरमा मनोपरामर्श दिँदै आएकी मनोपरामर्शकर्ता अरपिता सुब्बाले केही दिनअघि बाढीमा आमाबुबा गुमाएकी एक बालिकाबाट भावुक सन्देश पाएकी थिइन् । सन्देशमा उनले आफूलाई अहिले खासै समस्या नभए पनि आगामी दिनको भर हुन नसक्ने उल्लेख गरेकी छन् । बुबाआमा गुमाउनुपर्दा र परिवारमा बुबाका दाइभाइसमेत नहुँदा संकटमा सहयोग गर्ने आफ्नो मान्छे कोही नरहेको उनको भनाइ छ ।

भाइको शिक्षादीक्षा र भविष्यमा पर्न सक्ने आर्थिक समस्याप्रति चिन्तित ती बालिका परिवारको दायित्व आफ्नै काँधमा आएको र आयस्रोत खोज्नुपर्ने अवस्था सिर्जना भएको बताउँछिन् । बुबा एक्लो सन्तान भएकाले घरपरिवारबाट भरोसा दिने अर्को व्यक्ति नभएको र मामाघरकी हजुरआमाले भने सहयोग गरिरहेको उनले जनाएकी छन् । अघि बढ्न आफूलाई आर्थिकसँगै भावनात्मक सहयोग पनि आवश्यक रहेको उनको भनाइ छ ।

अन्योलका बीच पीडितहरू विस्तारै आफ्ना व्यथा खोल्न थालेका छन्, तर कतिपय अझै खुलेर बोल्न सकिरहेका छैनन् ।

सुरक्षाकर्मीको उद्धारमा यहाँ आइपुगेका रसुवाका बाढीपीडितमध्ये टिमुरेका बासिन्दालाई मुस्ताङ गुम्बामा राखिएको छ । सुरुका दिनमा नागार्जुनस्थित एल्लो गुम्बामा राखिएका उनीहरूलाई त्यहाँ बस्नेको संख्या बढेपछि स्याफ्रुबेंसीका पीडितलाई पहिलेकै स्थानमा राखी टिमुरेका पीडितलाई मुस्ताङ गुम्बामा सारिएको हो ।

टिमुरेका १३६ घरधुरी सेल्टरमा

मुस्ताङ गुम्बामा टिमुरेका १३६ घरधुरीका २७९ महिला, २८९ पुरुष र १२६ बालबालिका बसिरहेका छन् । उनीहरूको खानपानको व्यवस्था हाल लायन्स क्लबले गर्दै आएको छ । खानपान र बासको व्यवस्था भए पनि उनीहरूलाई भविष्यको चिन्ताले सताइरहेको छ ।

दुई सन्तानकी आमा खाङ्गु शेर्पा अहिले खानेबस्ने मात्र भएको, अब आफूहरूसँग जाने कुनै ठाउँ नरहेको र आफ्नो भन्न सकिने सम्पत्ति पनि नबाँकी रहेको बताउँछिन् । बाढीअघि उनी र उनका पति टिमुरेमा पसल चलाउँथे र आम्दानी ठिकै थियो । दुई छोराछोरीलाई काठमाडौंमा राखेर पढाउँदै आएका उनीहरू तीव्र गतिमा आएको बाढीबाट भागेर ज्यान जोगाउन सफल भए पनि घरका सबै कागजात बगे । सरकारी निकायबाट परिचय खुल्ने कुनै कागजात अब उनीहरूसँग छैन ।

यथाशीघ्र पुनर्स्थापना गर्न माग

पीडितहरू पुरानै थातथलोमा फर्कन चाहन्छन् । तर ५० दिन कटिसक्दासमेत सरकारी तर्फबाट त्यसका लागि पहल नभएको भन्दै शेर्पाले गुनासो गरेकी छन् । आफूहरूलाई पुरानै ठाउँमा बसोबासको व्यवस्था मिलाई बालबालिकालाई पढ्न पाउने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरेकी छन् ।

सबै पीडित एउटै अवस्थाका नभएकाले वर्गीकरण गरेर सरकारले स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने उनीहरूको अपेक्षा छ । परिवारका सदस्य गुमाएका, सम्पत्ति पूर्ण रूपमा क्षति भएका र रसुवामा क्षति पुगे पनि अन्यत्र आयस्रोतको बाटो भइरहेका परिवारलाई छुट्याएर प्राथमिकता निर्धारण गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

तीन तहका सरकारका प्रतिनिधि सुरुका दिनमा सेल्टरमा देखिए पनि पछिल्ला दिनमा आउन छोडेको भन्दै पीडितहरूले चिन्ता व्यक्त गरेका छन् । सेल्टरमा बसिरहेकाहरूलाई सरकार नै नभएको महसुस भइरहेको मनोपरामर्शकर्ता सुब्बा बताउँछिन् । पुनर्स्थापना कसरी हुने र अस्थायी ठाउँमा कति दिन बस्नुपर्ने भन्ने उनीहरूको मूल चिन्ता रहेको उनको भनाइ छ ।

बाढीले बगाएका कागजात बनाउन सरकारले तदारुकता नदेखाएकोप्रति पीडितहरू चिन्तित छन् । सेल्टरमा रहेका बालबालिकाको पठनपाठन पनि अनिश्चित बनेको छ । सुरुका दिनमा केही दाताले विद्यालय शुल्क तिरिदिने भने पनि पछिल्ला दिनमा शुल्कको चिन्ता थपिएको छ । विद्यालयले शुल्क छुट दिन नमान्दा तिर्न नसकेर छोराछोरीको पढाइ नै छुट्ने हो कि भन्ने चिन्ता अभिभावकको छ ।

सेल्टरमा बालबालिकादेखि प्रौढ र दीर्घरोगीसम्म बसिरहेका छन् । तर उनीहरूको स्वास्थ्य परीक्षण र परामर्शका लागि आउँदै आएका चिकित्सकसमेत पछिल्ला दिनमा सेल्टर पुग्न छोडेका छन् ।

मुस्ताङ गुम्बा व्यवस्थापनले बाढीपीडितलाई तीन महिनासम्म राख्न सकिने वचन दिएको छ । त्यसपछि के गर्ने भन्नेबारे भने टुंगो लागिसकेको छैन । यथाशीघ्र आफ्नो पुरानै ठाउँमा फर्काइदिन सरकारसँग उनीहरूको आग्रह छ ।

व्यवसाय, पर्यटन र सीमापार व्यापारलगायतमार्फत रसुवावासीले विगतमा सरकारलाई सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै एक पीडितले सात मिनेटभित्रै आफूहरूले सबै कुरा गुमाउनुपरेको बताएका छन् । त्यतिबेला आयआर्जन गरेर सरकारलाई दिन सक्ने अवस्थामा रहेको तर अहिले गुम्बामा बस्नुपर्ने स्थिति आउँदा सरकारले हेर्नुपर्ने उनको भनाइ छ । पुरानै थातथलोमा फर्कन पाए सरकारको ढुकुटी बढाउन आफूहरूले पनि योगदान गर्ने पीडितहरू बताउँछन् ।