काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनसम्बन्धी निर्णय संसदीय सुनुवाइ समितिले तत्कालका लागि रोकेको छ। जापान पक्षबाट उनका बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेकाले अनुमोदनको निर्णय अहिले नलिइने समितिले जनाएको छ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित राजदूतबारे जापानसँग मागिएको विवरण नआएको पत्र परराष्ट्र मन्त्रालयबाट प्राप्त भएको छ। सोही कारण केही समयका लागि यो विषय होल्ड गरिएको उनले जानकारी दिए।
प्रस्तावित राजदूत थापामाथि जापानको स्थायी बासिन्दा (पीआर) रहेको र त्यसले स्वार्थ बाझिन सक्ने भन्दै संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको थियो। सो विषयमा समितिले सरकारमार्फत जापानसँग विवरणसमेत माग गरेको थियो।
तर थापाले भने आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। जापानबाट औपचारिक जानकारी नआएसम्म अनुमोदनको निर्णय अघि नबढ्ने समितिको भनाइ छ।







