बागमती प्रदेशमा रहेका नेकपा (एमाले) का मन्त्रीहरुलाई पार्टीको संसदीय दलका नेता जगन्नाथ थपलियाले राजीनामा दिन निर्देशन दिएका छन्। कांग्रेस–एमाले सत्ता गठबन्धनमा उत्पन्न समस्याका कारण यो निर्णय गरिएको थपलियाले बताए।
थपलियाका अनुसार मन्त्रीहरुले समयअनुकूल मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राजीनामा बुझाउनेछन्। बागमती सरकारमा एमालेका ६ जना मन्त्री छन्। मुख्यमन्त्री बानियाँको नेतृत्वमा हाल १४ मन्त्रालयलाई घटाएर ८ बनाइएको छ भने ६ मन्त्रीलाई बिना विभागीय मन्त्रीको रुपमा राखिएको छ।
एमालेबाट मन्त्री बनेकाहरुमा कृषि, पशुपंक्षी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका छन्। त्यस्तै, बिना विभागीय मन्त्रीहरुमा किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी छन्। बिना विभागीय मन्त्री किरण थापाले राजीनामाको निर्देशन आएको र केही समयपछि राजीनामा दिने तयारी भइरहेको बताए।
