यमनमा जारी द्वन्द्वका कारण आठ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले जनाएको छ। युद्धको अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्याउन कठिन बनाएको कार्यक्रमले उल्लेख गरेको छ।
डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा खाद्य संकट सबैभन्दा तीव्र छ। त्यहाँ जारी युद्ध र सडक बन्द हुने जोखिमका कारण हजारौँ विस्थापित परिवार बसोबास गर्ने क्षेत्रमा राहतकर्मीको पहुँच पूर्ण रूपमा अवरुद्ध भएको छ।
ताइजमा गम्भीर संकट
ताइजमा मात्रै छ लाखभन्दा बढी मानिस खाद्य सहायताबाट वञ्चित भएका छन्। तीमध्ये करिब दुई लाख महिला तथा बालबालिका रहेको डब्लूएफपीले जनाएको छ। यसैगरी यमनको पश्चिमी तटीय क्षेत्रमा पनि पछिल्लो समय राहत पहुँच अवरुद्ध भएको छ।
खाद्य संकट गहिरिँदै गएका क्षेत्रमा पिठोको मौज्दात सकिन थालेको छ भने स्थानीय बजारमा खाद्यान्नको उपलब्धता घट्दै गएको छ। यसले मानवीय संकट थप भयावह बन्न सक्ने जोखिम बढाएको छ।
डब्लूएफपीका अनुसार यमनभर एक करोड ८० लाखभन्दा बढी मानिससँग पर्याप्त खाना छैन। पछिल्लो अनुगमनले राहतकर्मीको पहुँच भएका क्षेत्रका ७४ प्रतिशत परिवारले समेत दैनिक खाद्य आवश्यकता पूरा गर्न नसकेको देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात हो।







