काठमाडौँ — मलेसियाका लागि राजदूतमा प्रस्तावित चुडामणी खरेलको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको बुधबार बसेको बैठकमा खरेलको नाम निर्णयार्थ प्रस्तुत भएपछि सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय भएको हो । खरेलको नाम मन्त्रीपरिषद्ले राजदूतका लागि प्रस्ताव गरेको थियो ।
समितिमा रास्वपा, कांग्रेस, एमाले र नेकपालगायत दलका सांसदहरूले खरेलको नाम अस्वीकृत गर्ने पक्षमा मत राखेका थिए । उच्च नैतिक चरित्र नदेखिएकाले उनलाई राजदूत पदमा नियुक्तिका लागि अनुमोदन गर्न नहुने निर्णय सर्वसम्मत रूपमा भएको समिति सभापति बोधनारायण श्रेष्ठले घोषणा गरे ।
खरेलमाथि आर्थिक अनियमितता लगायतका आरोप लागेको स्रोतले जनाएको छ । समितिले खरेलको नाम अस्वीकृत गरेसँगै मलेसियाका लागि राजदूत नियुक्तिको प्रक्रिया अनिश्चित बनेको छ ।
यसअघि समितिको बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत गरेको थियो ।







