चाडपर्वमा यात्रा गर्ने यात्रुका लागि यति एयरलाइन्सले पुरस्कारसहितको अभियान सुरु गरेको छ। एयरलाइन्सका अनुसार ३९ दिनसम्म चल्ने यो अभियानमा सहभागी यात्रुले ५ लाख ७१ हजार रुपैयाँ मूल्यको पूजा डिजाङ १२५ स्कुटर जित्ने मौका पाउनेछन्।
'यति ले उडाउँछ, भाग्यले गुडाउँछ' नाम दिइएको अभियान अक्टोबर ९ मा सुरु भइसकेको छ र नोभेम्बर १६ सम्म जारी रहनेछ। यसले दशैं, तिहार तथा छठ पर्वको अवधिलाई समेटेको छ।
अभियानका बेला टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रु स्वतः भाग्यमानी छनोटमा समावेश हुनेछन्। यसका लागि छुट्टै दर्ता गर्नु पर्दैन। तर रद्द भएका, फिर्ता भएका र प्रयोग नभएका टिकट भने छनोटमा नपर्ने एयरलाइन्सले स्पष्ट पारेको छ।
पुरस्कार र घोषणाको समय
अभियानमा मुख्य पुरस्कारसँगै साप्ताहिक रूपमा हिमाली उडान पनि पुरस्कारस्वरूप समावेश गरिएको छ। मुख्य पुरस्कार अग्नि मोटो इन्कले प्रायोजन गरेको हो।
विजेताको नाम यति एयरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत डिसेम्बर १, २०२६ मा प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिनेछ।
चाडपर्वको यात्रालाई थप आकर्षक बनाउने तथा यात्रुको निरन्तर सहयोगको कदर गर्ने उद्देश्य अभियानको रहेको एयरलाइन्सको भनाइ छ।







