रौतहटको चन्द्रपुर नगरपालिका-८ मोतिपुरमा बुधबार बिहान स्कुल बसको ठक्कर लागेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । घर अगाडिको सडक किनारमा खेलिरहेकी महिमा चौधरीलाई मुनलाइट एकेडेमीको स्कुल बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बिहान करिब १०ः५५ बजे भएको उक्त घटनामा टाउकोको पछाडि गम्भीर चोट लाग्दा बालिकाको घटनास्थलमै मृत्यु भयो ।
मृत्यु हुने महिमा स्थानीय बासिन्दा सिकेन्द्र चौधरीकी छोरी हुन् । घटनापछि उक्त बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिम्मामा लिइएको छ । बसमा मधेश प्रदेश ०३-००१ क २८७८ नम्बर रहेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर अस्पताल पुर्याइएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले बस चालक चन्द्रपुर नगरपालिका-४ निवासी ४५ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको छ र घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।







