काठमाडौं । प्राकृतिक विपत्तिले मुलुकभर शोकको वातावरण बनाएको भन्दै नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा गर्दै आएको चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ। पार्टीले यो निर्णय बाढीपहिरोका कारण भएको ठूलो जनधन क्षतिलाई मध्यनजर गर्दै गरेको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते जारी गरेको विज्ञप्तिमा भोटेकोशीमा आएको बाढीले १४ सयभन्दा बढीको मृत्यु भई पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था औँल्याइएको छ। बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति पुर्याएको उल्लेख गर्दै उनले यस्तो दुःखद घडीमा यसपालिको चियापान कार्यक्रम नगरिने जनाएका छन्।
विज्ञप्तिमार्फत् पार्टीले विपत्तिमा परेका परिवारप्रति समवेदना प्रकट गर्दै शोकाकुल वातावरणमा उत्सवधर्मी कार्यक्रम नगर्ने निर्णय सार्वजनिक गरेको हो।
०३४ सालदेखिको परम्परा
कांग्रेसका संस्थापक नेता बीपी कोइराला ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए। त्यसपछि ०३४ सालको कोजाग्रत पूर्णिमाका दिन उनले चियापान समारोहको सुरुआत गरेका थिए।
त्यसयता पार्टीले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो। यसपालि भने विपत्तिको शोकका कारण उक्त परम्परा स्थगित हुने भएको छ।







