ठमेलस्थित द कला सैलुनमा श्रीलंकाली कलाकार दम्पती मनोरञ्जना हेराथ बन्दारा र निलान्थी दिलिनी परेराको संयुक्त कला प्रदर्शनी ‘टु हार्ट्स वन क्यानभास’ जारी छ। पति–पत्नी दुवैजना चित्रकार हुन् र उनीहरू सँगै चित्र बनाउँछन्। प्रदर्शनीमा उनीहरूका दुई फरक शैलीका कामले रंग र आकारमार्फत एकअर्कालाई पूरक बनाउँदै संवाद गरेको देख्न सकिन्छ।
स्वप्निल रंग र ‘पोयटिक माइन्ड’
परेराका कलाकृतिहरूमा सपनाजस्तो संसार छ। निलो, म्युट हरियो, गुलाबी र सुनौलो रंगका हल्का पोतहरूले दर्शकलाई अर्कै लोकमा पुर्याउँछन्। उनका चित्रमा एक महिलाको अनुहार दोहोरिने गर्छ, जसलाई मातृपृथ्वीको प्रतीकका रूपमा देख्न सकिन्छ। यही केन्द्रीय आकृतिवरिपरि उड्ने माछा, जटिल फूल, चरा र लहरहरूका प्रतीकहरू राखिएका छन्।
परेरा आफ्ना काम श्रीलंकाली परम्परागत कलासँग जोडिएको तर आफ्नै रंग र दृश्य शैलीमा विकसित भएको बताउँछिन्। उनी यसलाई ‘पोयटिक माइन्ड’ अर्थात् काव्यात्मक मनको अभिव्यक्ति भन्छिन्, जुन भित्री इच्छा र आशाको निजी भाषा हो।
“यी चित्रहरू मेरो कल्पना, भावना र वरपरका अनुभवबाट आउँछन्। तर यो पलायन होइन,” परेरा भन्छिन्। उनका अनुसार लहरबाट माथि उठेका कमलले लचिलोपनलाई संकेत गर्छन् भने महिलाको हेराइमा देखिने शान्तिले आफ्नो गन्तव्यमा पुगेको अनुभूति दिन्छ।
ज्यामितीय आकारमा मानवीय भावना
बन्दाराका काम भने परेराका भन्दा फरक छन्। उनी मानवीय भावनालाई ज्यामितीय रूप दिन्छन्। उनका चित्रमा बाक्ला रंग र तह–तहका आकारहरू क्यानभासको किनारासम्म फैलिन्छन्। अनुहार, आँखा, ओठ र हातहरू दोहोरिने गर्छन्, जुन मानवीय स्मृति र अनुभवका टुक्राजस्ता लाग्छन्। तिनमा एक प्रकारको अस्थिरता पनि छ।
उनको केन्द्रीय कृतिको नाम ‘द किस’ हो, तर यो चुम्बनको शाब्दिक चित्रण होइन। “यो केवल शारीरिक चुम्बन होइन। स्नेह, प्रेम र त्यस अनुभवसँग जोडिएका धेरै सम्झनाहरू हुन्छन्,” बन्दारा भन्छन्। उनले चुम्बनका लागि नजिकिँदा शरीरले देखाउने अनैच्छिक प्रतिक्रियालाई आफ्ना कृतिहरूमा देखाएका छन्।
राजदूतद्वारा उद्घाटन
नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी देल्पितियाले प्रदर्शनीको उद्घाटन गरिन्। उनले भनिन्, “दुई हृदय, दुई अद्वितीय पहिचान एउटै क्यानभासमा आउँछन्। यसले व्यक्तित्वको सम्मान गर्दै दुई कलात्मक दृष्टिकोणको सहअस्तित्व र साझेदारीलाई देखाउँछ, जसले एकअर्कालाई समृद्ध बनाउँछ।”
क्युरेटर सोफिया एल. पाण्डेका अनुसार सँगै हेर्दा यी कृतिहरूले सँगै काम गर्ने कलाकार जोडीको सहक्रिया देखाउँछन्। एकअर्काका विषयवस्तु, रंग, रूप, विचार र हृदयबाट प्रेरित यी कामहरूमा पति–पत्नीबीचको तालमेल झल्किन्छ। परेराका कोमल रेखाहरू र बन्दाराका तीखा आकारहरूबीचको पूरकताले यो प्रदर्शनीलाई एउटै ठाउँमा दुई कलाकारका काम राख्नुभन्दा बढी अर्थ दिन्छ।
प्रदर्शनी द कला सैलुन, ठमेलमा सेप्टेम्बर ७ सम्म चल्नेछ।



