मुख्य सामग्रीमा जानुहोस्

सुदूरपश्चिम रोयल्सलाई पहिलो एनपीएल उपाधि, फाइनलमा लुम्बिनी १० विकेटले पराजित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले एक विकेट पनि नगुमाई पूरा गर्‍यो। ओपनर जर्ज मन्सेले ५४ बलमा १२५ रन बनाए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
सुदूरपश्चिम रोयल्सलाई पहिलो एनपीएल उपाधि, फाइनलमा लुम्बिनी १० विकेटले पराजित
Online Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै पहिलोपटक एनपीएल च्याम्पियन बनेको हो।

अघिल्ला दुई संस्करणमा राम्रो प्रदर्शन गर्दै फाइनलसम्म पुगे पनि सुदूरपश्चिम उपाधिबाट वञ्चित रहेको थियो। यसपटक भने टिमले अघिल्लो संस्करणको फाइनलमा भोगेको हारसँगै यही संस्करणको लिग चरण र पहिलो क्वालिफायरमा व्यहोरेको पराजयको बदला लिँदै उपाधि आफ्नो नाममा लेखायो।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

मन्सेको आक्रामक पारी

सुदूरपश्चिमको जितको आधार ओपनर जर्ज मन्सेको पारी रह्यो। उनले ५४ बलमा ८ चौका र १२ छक्कासहित १२५ रन बनाए। अर्का ओपनर विनोद भण्डारीले २७ बलमा ३० रन जोड्दै उनलाई साथ दिए। दुवै ओपनर अन्तिमसम्म क्रिजमा रहे।

खेल सकिएपछि त्रिवि क्रिकेट मैदानमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई एनपीएलको ट्रफी हस्तान्तरण गरे।

ट्रफी उचालेसँगै सुदूरपश्चिमका खेलाडी, प्रशिक्षक, सपोर्टिङ स्टाफ तथा व्यवस्थापन पक्षले मैदानमै खुसीयाली मनाएका छन्।