राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोली भारत एसँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको छ। शुक्रबार राति दोहामा सम्पन्न उक्त खेलमा भारत एले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ औं ओभरमा जम्मा २६ रन बनाउँदै अलआउट भयो।
नेपाली पारीमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सर्वाधिक ६ रन पवन सर्राफले बनाए। भारत एका प्रिन्स यादवले ५ र हर्षित रानाले ४ विकेट लिए भने शाहबाज अहमदले एक विकेट हात पारे।
कुशाग्र र तिलकको शतक
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत एले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन जोडेको थियो। कुमार कुशाग्रले ११७ तथा कप्तान तिलक वर्माले १०७ रन बनाए। सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन जोड्दा ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए।
टोलीको स्कोर ४२-३ हुँदा जोडीदारीमा आएका कुशाग्र र तिलकले चौथो विकेटका लागि २०६ रनको साझेदारी गरे। भारतको स्कोर २४८ पुगेपछि कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भएका थिए भने शतकपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा पवेलियन फर्किए।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान ३-३ विकेट लिए। नन्दन यादवले २ विकेट हात पार्दा पवन सर्राफले एक विकेट लिए।
यो नतिजासँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गर्न सकेन। टोलीले आफ्नो दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।







