काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले तेस्रो प्रयासमा च्याम्पियन बन्ने अवसर पाएको हो। उपाधि भिडन्तमा सुदूरपश्चिमले १० विकेटको स्पष्ट जित निकाल्यो।
फाइनलमा महत्वपूर्ण योगदान दिएका सुदूरपश्चिम रोयल्सका जर्ज मन्से प्लेयर अफ द म्याच घोषित भए। उपविजेता बनेको लुम्बिनी लायन्सलाई भने स्प्रिट अफ क्रिकेट अवार्ड प्रदान गरियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित भए। उनले यो सिजन तीन अर्धशतकसहित २१८ रन बनाएका थिए भने बलिङतर्फ ६ विकेट पनि लिएका थिए। यो प्रदर्शनसँगै उनले ५ लाख रुपैयाँ पुरस्कार जितेका छन्।
रिजन उत्कृष्ट नेपाली खेलाडी
चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्। प्रतियोगिताभर उनले सर्वाधिक १७ विकेट लिए। सोही प्रदर्शनका आधारमा उनले ओमोडा एण्ड जाएको कार पुरस्कार प्राप्त गरे। साथै उनी उत्कृष्ट बलर पनि घोषित हुँदै पल्सर मोटरसाइकल जित्न सफल भए।
टिमगत रूपमा चितवन भने प्लेअफसम्म पुगे पनि फाइनलमा स्थान बनाउन सकेन। यो सिजन चितवन तेस्रो स्थानमा रह्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटगर किंग्सका लोकेश बम घोषित भए। उनले २४२ रन जोडेका थिए र उनले पनि पल्सर बाइक पुरस्कार पाए। यसैगरी रेड बुल इनर्जेटिक प्लेयर चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा बने, जसले नगद २ लाख रुपैयाँ प्राप्त गरे।
जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जिते। उनले पनि पल्सर मोटरबाइक पुरस्कार हात पारे।







