नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा टस हारेपछि पहिले ब्याटिङ गर्ने अवसर पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो।
लुम्बिनीको इनिङ्समा सबैभन्दा उल्लेखनीय योगदान दिलीप नाथको रह्यो। उनले ३१ बल खेल्दै तीन छक्काको सहयोगमा ३९ रन अविजित राखे। कप्तान रोहित पौडेलले पनि ३१ बलमै दुई चौका प्रहार गर्दै ३० रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन सघाए।
सुदूरपश्चिमतर्फ बलिङमा स्कट कुगेलेइन सबैभन्दा सफल देखिए। उनले चार ओभरमा २५ रन खर्चिएर दुई विकेट लिए। हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र थारिन्दु रत्नायकेले समान एक-एक विकेट हात पारे।
अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले २० ओभरमा १५६ रन बनाउनुपर्नेछ।







