मुख्य सामग्रीमा जानुहोस्

तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको तेस्रो संस्करण जितेको छ। साविक विजेता लुम्बिनी लायन्सलाई फाइनलमा १० विकेटले पराजित गर्दै टोली पहिलो पटक च्याम्पियन बन्यो। जितमा ओपनर जर्ज मन्सेले ५४ बलमा अविजित १२५ रन बनाए।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो
Online Khabar

लगातार दुई संस्करणको फाइनलसम्म पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी हात पारेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन बनेको छ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई पूरा गर्‍यो। स्कटल्यान्डका ओपनर जर्ज मन्सेले ५४ बलमा ८ चौका र ८ छक्कासहित अविजित १२५ रन प्रहार गरे। उनी र विनोद भण्डारीबीच पहिलो विकेटका लागि भएको साझेदारी अविजित रह्यो, जसमा दुईले १५८ रन जोडे।

सुदूरपश्चिमको यात्रा भने सहज थिएन। पहिलो खेलमै लुम्बिनीसँग पराजित भए पनि टोलीले तेस्रो खेलमा विराटनगर किंग्सलाई हराउँदै पुनरागमन गर्‍यो र लिग चरणका लगातार चार खेल जितेर प्लेअफमा स्थान बनायो। लिग चरणमा दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा फेरि लुम्बिनीसँगै पराजित भयो, तर दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्यो।

लगातार तीन फाइनल, पहिलो उपाधि

पहिलो संस्करणमा लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो, तर उपाधि भिडन्तमा जनकपुरसँग पराजित भयो। दोस्रो संस्करणमा पनि लिग चरण शीर्ष स्थानमा रहँदै विराटनगर किंग्सलाई पहिलो क्वालिफायरमा हराएर फाइनल पुगेको टोली लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो।

एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए। तेस्रो संस्करणमा सुदूरपश्चिमले आफ्नो नाम पनि च्याम्पियनको सूचीमा लेखायो। लगातार तीन पटक फाइनल पुग्ने पहिलो टोली बन्ने कीर्तिमानसमेत सुदूरपश्चिमको नाममा जोडिएको छ।

लुम्बिनीविरुद्धको तीन हारको बदला

यो उपाधि सुदूरपश्चिमका लागि लुम्बिनीविरुद्धको लगातार तीन हारको जवाफ पनि बन्यो। दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले तेस्रो संस्करणको लिग चरण र पहिलो क्वालिफायरमा पनि त्यही टोलीसँग हार बेहोरेको थियो। निर्णायक भिडन्तमा भने ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै टोलीले एकपक्षीय जित निकाल्यो।

फाइनलमै शतक प्रहार गर्ने पहिलो खेलाडी

फाइनलका नायक मन्से एनपीएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडी हुन्। यो तेस्रो संस्करणको तेस्रो तथा एनपीएल इतिहासको समग्रमा छैटौं शतक हो। यसै सिजन यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक प्रहार गरेका थिए।