मुख्य सामग्रीमा जानुहोस्

कांग्रेसमा समानान्तर गतिविधि नरोके कारबाही हुने सभापति थापाको चेतावनी

महाधिवेशनका लागि देश दौडाहामा रहेका देउवाले पार्टीको चुनाव चिन्ह आफ्नो पक्षसँग रहेको दाबी गरेपछि सभापति थापाले असन्तुष्टि पोखेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा उनले एकै पार्टीमा दुई अधिवेशन सम्भव नरहेको बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
कांग्रेसमा समानान्तर गतिविधि नरोके कारबाही हुने सभापति थापाको चेतावनी
Nagariknetwork

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र समानान्तर गतिविधि जारी राखिए कारबाही अघि बढाइने चेतावनी दिएका छन्। पूर्वसभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक सक्रियताप्रति असन्तुष्टि व्यक्त गर्दै सभापति थापाले सो कुरा बताएका हुन्।

महाधिवेशनको तयारीका लागि देश दौडाहामा रहेका देउवाले पार्टीको चुनाव चिन्ह आफ्नो पक्षसँग रहेको दाबी गरेपछि सभापति थापा आक्रोशित बनेका हुन्। केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले एउटै पार्टीभित्र दुई अधिवेशनको कुनै औचित्य नरहने धारणा राखे।

पार्टीको चारतारे झन्डामुनि रहेका कुनै पनि नेता तथा कार्यकर्तालाई कारबाही नगर्ने उल्लेख गर्दै सभापति थापाले आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाए। तर मुलुकमा अब एउटै नेपाली कांग्रेस रहेको बताउँदै अर्को समूहमा लागेर पार्टीलाई अपमान गर्ने प्रवृत्तिविरुद्ध भने पार्टी कठोर बन्ने उनको चेतावनी थियो।

देउवाले विभिन्न सभा तथा भेलामा व्यक्त गरेका भनाइमा आफू कुनै टिप्पणी नगर्ने बताउँदै सभापति थापाले आफ्नो स्तर कायम राख्न सुझाव दिए। पाँच पटकसम्म प्रधानमन्त्री भइसकेको र लामो समय पार्टी नेतृत्व सम्हालिसकेको व्यक्तिबाट भएका कदम तथा विभिन्न स्थानमा गरिएका दाबी पार्टीको विधानविपरीत रहेको उनको भनाइ छ। यही आधारमा उनले देउवालाई आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे।

यसअघि आफूले देउवालाई अन्य नेताहरूले झुक्याएको बताउने गरेको स्मरण गर्दै सभापति थापाले पछिल्ला गतिविधिले भने देउवा स्वयंले अरूलाई झुक्याएको देखिन थालेको दाबी गरे। देउवासहितका नेताले तत्काल समानान्तर गतिविधि नरोके कारबाही हुने उनको चेतावनी छ।