मुख्य सामग्रीमा जानुहोस्

पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ, काठमाडौं ल्याइयो, भोलि म्याद थप हुँदै

अनुसन्धान अधिकृतका अनुसार १ मंसिर बिहान बुद्ध एयरको जहाजमार्फत कोलकत्ता पुगेका अर्याल पक्राउ परेपछि आज काठमाडौं ल्याइएको हो । स्वास्थ्य जाँच र कागजात तयार पार्न समय लागेकाले आज अदालत उपस्थित गराइएन, भोलि म्याद थप गरिने…

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ, काठमाडौं ल्याइयो, भोलि म्याद थप हुँदै
Online Khabar

मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम उठाई विदेश पुर्‍याएको आरोपमा अनुसन्धान भइरहेका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनी भारतको कोलकत्ताबाट पक्राउ परेका हुन् र आजै काठमाडौं ल्याइएको छ ।

काठमाडौं ल्याएपछि आजै म्याद थप्ने तयारी गरिएको थियो । तर स्वास्थ्य जाँच गराउन र कागजात तयार पार्न समय अभाव भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएन । सीआईबीका एक अधिकृतका अनुसार भोलि मात्रै उनलाई म्याद थपका लागि अदालत लगिनेछ ।

अनुसन्धानबाट फरारसम्म

यो प्रकरणमा सीआईबीले यसअघि २९ असोजमा रामेछापका कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको थियो । मलेसिया जाने कामदारबाट अवैध रूपमा रकम संकलन गरी त्यसलाई विदेश लैजाने काममा संलग्न रहेको आरोप उनीहरूमाथि थियो । त्यसपछि थप अनुसन्धान गर्दा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी र एकनारायण अर्यालको भूमिका देखिएको थियो ।

दुई मन्त्रीको पालामा मन्त्रीस्तरीय निर्णय गरेर रकम मलेसिया लगिएको भेटिएपछि ब्यूरोले श्रम मन्त्रालयसँग सम्बन्धित केही कागजात माग गरेको थियो । कागजात मागिएको संकेत पाएपछि अर्याल एकाएक सम्पर्कविहीन भएका थिए ।

सीआईबीका एक अधिकृतका अनुसार उनी १ मंसिर बिहानै बुद्ध एयरको जहाजमार्फत कोलकत्ता गएका थिए । त्यसको भोलिपल्ट २ मंसिरमा ब्यूरोले दुई पूर्वश्रममन्त्री र एक तत्कालीन श्रम सचिवसहित ६ जनालाई पक्राउ गरेको थियो । अधिकृतका भनाइअनुसार अदालतबाट पक्राउ पुर्जी लिएकै दिन धेरैलाई पक्राउ गरिएको थियो, तर अर्यालले भने पहिल्यै संकेत पाएर फरार भएका थिए ।

कोलकत्ता पुगेपछि उनी होटलमा नबसी त्यहाँका एक भारतीय नागरिकको घरमा बसेको अनुसन्धान अधिकृतले बताएका छन् । उनले करिब चार वर्ष कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए । त्यही बेला भएको चिनजानकै आधारमा उनी त्यहाँ बसेको हुन सक्ने अधिकृतको अनुमान छ ।

श्रम सचिवका रूपमा चार मन्त्रीसँग काम

अर्यालले २०७८ मंसिर १५ देखि २०८० जेठ २९ सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । सोही अवधिमा उनले कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारी मन्त्री हुँदा काम गरेका थिए । श्रेष्ठको पालामा बाहेक बाँकी तीनै मन्त्रीको कार्यकालमा रकम अवैध रूपमा मलेसिया पुगेको देखिन्छ ।

यो प्रकरणका जानकारहरू भने अर्याल श्रम सचिव बन्नुअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेकै बेलादेखि यस प्रकरणसँग जोडिएका व्यक्तिहरूसँग निकट रहेर सहयोग गरेको दाबी गर्छन् ।

अनुसन्धानका क्रममा सम्झौता विपरीत सिण्डकेट खडा गरी कैलाश खड्काको म्याक्रोटेकमार्फत कामदारको स्वास्थ्य परीक्षण गरिएको, गैरकानुनी रूपमा रकम उठाइएको र त्यसरी उठाइएको पैसा अमेरिकी डलर तथा पाउण्डमा रूपान्तरण गरी मलेसिया पठाइएको भेटिएको छ । यसरी रकम पठाउने क्रम १७ पटकसम्म दोहोरिएको र जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ अवैध रूपमा मलेसिया पुर्‍याइएको खुलेको छ ।

रकम पुर्‍याउने काममा काठमाडौंस्थित मलेसियन दूतावासका तत्कालीन राजदूत र कर्मचारीदेखि श्रम मन्त्रालयका सचिव, कर्मचारी, मन्त्री अनि राष्ट्र बैंकका कर्मचारीसम्म संलग्न रहेको अनुसन्धानबाट देखिएको छ ।

यो प्रकरणमा हालसम्म दुई पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित ११ जना पक्राउ परेका छन् । अर्यालसहित उनीहरूलाई एकै पटक अदालत उपस्थित गराई म्याद थप्ने तयारी भए पनि अर्यालको हकमा समय नभ्याइएको ब्यूरोले जनाएको छ । बाँकी १० जनालाई भने ढिला गरी अदालत उपस्थित गराइएको र थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाइएको छ । अर्याललाई पनि उनीहरूकै म्यादसँगै सोमबार सकिने गरी म्याद दिने सम्भावना रहेको अधिकारीहरू बताउँछन् । उनीहरूमाथि ठगी र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।