सिकारी चराहरूमध्ये संसारकै सबैभन्दा लामो बसाइँसराइ गर्ने प्रजातिका रूपमा परिचित अमुर बाजले वर्षेनि करिब २२ हजार किलोमिटर उड्ने गर्छ। उत्तरपूर्वी एसियाबाट अफ्रिकासम्म फैलिने यो यात्राको एउटा खण्ड नेपालको आकाशबाट पनि पर्छ। मुख्यतः अक्टोबर र नोभेम्बरमा देखिने यो चरा नेपालका लागि असामान्य प्रवासी प्रजाति मानिन्छ।
अक्टोबर महिनामा सञ्जय थापा श्रेष्ठले लहानमा ३ हजारभन्दा बढी अमुर बाज देखेका थिए। बसाइँसराइको क्रममा गन्तव्यतिर लागेका ती चरा नेपाली भूभागमाथिबाट उडेको वा यहाँ केही समय विश्राम लिएर दक्षिणतिर झरेको हुनसक्ने अनुमान छ।
यसअघि २०१४ असोजमा मनाङको भ्राकामा एक चरा अध्ययनकर्ताले बिजुलीको तारमा एउटा अमुर बाज बसेको देखेका थिए। कोइलीभन्दा अलिकति ठूलो, शरीर पूरै कालो देखिने, आँखा गाढा रातो–कालो, चुच्चो र खुट्टा पहेंलो तथा खुट्टामा खैरो प्वाँख भएको त्यो चरा उनले पहिलोपटक देखेका थिए। चरा राम्ररी नचिने पनि पुस्तकको सहायताले उनले त्यसलाई अमुर बाज भनेर पहिचान गरेका थिए। यस प्रजातिको भाले र पोथीको रूप फरक हुन्छ।
नाम अमुरबाट, प्रजनन साइबेरियामा
सन् १८६३ मा जर्मन प्रकृतिप्रेमी गुस्ताभ र्याडीले यो प्रजातिको पहिलोपटक वर्णन गरेका थिए। दक्षिणपूर्वी साइबेरियाको अमुरल्यान्ड क्षेत्र र त्यहाँ बग्ने अमुर नदीको नामबाट यसको नाम रहन गएको हो। प्रजननका लागि यो चरा साइबेरिया, उत्तरपूर्वी चीन, मङ्गोलिया र उत्तर कोरियातिर जान्छ भने जाडो महिना बिताउन अफ्रिकाको नामिबिया, जिम्बाब्वे, जाम्बिया र बोत्स्वानासम्म पुग्छ।
भारतबाट यो बाज नरोकिइकन सोमालियासम्म करिब २५ सयदेखि ३१ सय किलोमिटर उड्ने गर्छ। सोमालियामा जाडो बिताएर उही बाटो फर्किएर ऊ उत्तरपूर्वी एसियामा प्रजनन गर्न पुग्छ। केही दशकअघिसम्म वैज्ञानिकहरूले यो चरा मध्य एसियाबाट अरब प्रायद्वीप हुँदै अफ्रिका जाने अनुमान गरेका थिए। तर जीपीएस प्रविधिमा आधारित अध्ययनले कुनै भूभाग नपछ्याई पानीमाथि लगातार उडेरै यो अफ्रिका पुग्ने तथ्य देखाएको छ। चरा जगतकै सबैभन्दा लामो पानीमाथिको उडान पनि यिनै बाजले गर्ने गरेको पाइएको छ।
धमिराको भरमा लामो यात्राको इन्धन
लामो बसाइँसराइमा ठूलो मात्रामा ऊर्जा खर्च हुन्छ। त्यसैले यात्रा सुरु गर्नुअघि यी चरा भारतको नागाल्यान्ड, मेघालय र मणिपुर क्षेत्रमा लाखौँको सङ्ख्यामा जम्मा हुन्छन्। चरा संसारमा यस्तो ठाउँलाई स्टपओभर साइट भन्ने गरिन्छ।
अमुर बाज ती क्षेत्रमा मध्य अक्टोबरदेखि अक्टोबरको अन्त्यसम्म पुग्ने र लगभग नोभेम्बरभर बसेर अफ्रिकातिर लाग्ने गर्छन्। त्यही बेला ती ठाउँमा ठूलो सङ्ख्यामा धमिरा माटोबाट बाहिर निस्कने गर्छन्, जो प्रोटिनको उत्तम स्रोत हुन्। एउटा अध्ययनअनुसार यी बाजले करिब १५ दिनमा १ अर्ब धमिरा खान्छन्। उडानकै क्रममा किरा–फट्याङ्ग्रा समात्न सक्ने यी चरालाई मनसुनपछि धमिरा निस्किने समय र आफ्नो बसाइँसराइको समय ठ्याक्कै मिल्नु फाइदाजनक भएको वैज्ञानिकहरूको बुझाइ छ।
ट्रान्समिटरले देखाएको बाटो
सन् २०१० मा दक्षिण अफ्रिकामा जीपीएस ट्याग लगाएर छाडिएका १० अमुर बाजको अध्ययनले बसाइँसराइबारे थप जानकारी दियो। तीमध्ये ६ वटा कम्तीमा एक बसाइँसराइ सिजनसम्म बाँच्न सके भने ३ वटाले प्रजननका लागि जाने र फर्किने दुवै चरणको डेटा उपलब्ध गराए। सोही अध्ययनअनुसार दक्षिण अफ्रिकाबाट उडेका बाज सोमालियामा औसत ९.९ दिन बस्ने गरेका छन् र पश्चिमबाट हावा चलेका दिनमा त्यही हावाको गति समातेर उड्ने गरेका छन्।
बसाइँसराइ गर्ने धेरै प्रजातिका चराजस्तै अमुर बाज पनि अनुकूल दिशामा हावा बढी चलेको बेला यात्रा गर्छ। हावाको बहावसँगै उड्दा ऊर्जा कम खर्च हुने भएकाले यसो गरिन्छ। बाजहरू घामको तापले माथि उठेको न्यानो हावा अर्थात् थर्मल्सको प्रयोग गरेर पनि उड्ने गर्छन्।
सन् २०२५ को नोभेम्बरमा मणिपुर वन विभाग र भारतको वाइल्डलाइफ इन्स्टिच्युटको सहकार्यमा अमुर बाजमा स्याटेलाइट ट्रान्समिटर जडान गरिएको थियो। तीमध्ये भालेलाई अपापाङ्ग र पोथीलाई अलांग नाम दिइएको थियो। अपापाङ्गको नाम त्यही क्षेत्रमा रहेको बाज बास बस्ने सानो डाँडाबाट र अलांगको नाम त्यहाँको स्थानीय नदीबाट राखिएको हो।
यो सामग्री तयार पार्दै गर्दा अलांगले बंगलादेशबाट सोमालियासम्म १०१ घण्टा नरोकिई ५ हजार ७ सय किलोमिटर उडेको खबर (नोभेम्बर २१ मा) आएको थियो। अपापाङ्ग पनि ९५ घण्टासम्म निरन्तर उडिरहेको र ४ हजार १ सय किलोमिटर दूरी पार गरिसकेको जनाइएको थियो।
सिकार र संरक्षणको चुनौती
भारतमा रोकिँदा यी बाज लाखौँको सङ्ख्यामा बस्ने गरे पनि तिनको सुरक्षा ठूलो चुनौती बनेको छ। नागाल्यान्डको दोयाङ जलाशयवरपर लाखौँ जम्मा हुने अमुर बाजमध्ये स्थानीयले १० दिनकै अवधिमा करिब १ लाख ४० हजारसम्म मारेको पाइएको थियो। त्यस क्षेत्रमा बाजलाई पासो लगाइने कुरा बाहिर आएपछि भारतका धेरै संरक्षणकर्मी तथा निकायहरूको सहकार्यमा संरक्षणको काम सुरु भएको थियो।
नेपालमा अमुर बाज मुख्यतः अक्टोबर र नोभेम्बरमा देखिने असामान्य प्रवासी चरा हो। इबर्डको रेकर्डअनुसार देशका विभिन्न ठाउँमा यसको अवलोकन भएको पाइन्छ। नेपालको आकाश हुँदै हजारौँ किलोमिटरको यात्रामा निस्कने यी पाहुना चराका लागि सुरक्षित बासस्थानको सुनिश्चितता संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।







