भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई उनका स्वर्गीय पिता डा. रामनारायण शाहको विद्यार्थी अवस्थाको पुरानो तस्बिर उपहारस्वरूप प्रदान गरेका छन्। गुजरातको जामनगरमा रहेको आयुर्वेद विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा खिचिएको उक्त तस्बिर मोदीले शाहलाई दिएको जनाइएको छ। रामनारायणले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए।
गत वर्ष उनको ७७ वर्षको उमेरमा काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको थियो। भेटका अवसरमा मोदीले तस्बिर मात्र नभई वाराणसीको गंगाजल, बनारसी ब्रोकेड स्टोल तथा रामायणको सम्पूर्ण कथा चित्रण गरिएको कलमकारी चित्र पनि उपहार दिएका छन्। दैनिक भास्करका अनुसार बनारसी स्टोललाई परम्परागत गुजराती साडेली बक्सभित्र राखिएको थियो।
महोत्तरीको गाउँबाट आयुर्वेदसम्म
सन् १९४८ मा महोत्तरीको एकडारा गाउँमा जन्मिएका रामनारायणका पिता मुनीलाल शाह त्यस क्षेत्रका प्रभावशाली जग्गाधनी थिए। खेतीपातीमा संलग्न उनको परिवारको स्थानीय समुदायमा प्रभाव रहेको थियो। आयुर्वेदलाई नै आफ्नो पेसा बनाउने निर्णय गरेका उनले उच्च शिक्षाका लागि भारत जाने गरेका थिए र जामनगरस्थित आयुर्वेद विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि सन् १९८० को दशकको सुरुमा नेपाल फर्किएका थिए।
स्वदेश फर्किएपछि उनले सरकारी आयुर्वेद चिकित्सकका रूपमा सेवा सुरु गरे र सिंहदरबार वैद्यखानामा नियुक्ति पाए। सन् २००१ देखि २००५ सम्म उनले वैद्यखानाको प्रबन्ध निर्देशकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
काठमाडौंमा लामो समय बसेर काम गरे पनि उनी पुर्ख्यौली गाउँ एकडारासँग भने जोडिएका थिए। गाउँमा साप्ताहिक हाटबजार सञ्चालनका लागि जग्गा दान गर्नुका साथै स्थानीय मन्दिरको मर्मतमा पनि उनले सहयोग गरेका थिए।
यसैबीच, प्रधानमन्त्री शाह आइतबार सुरु भएको दुई दिने भारत भ्रमण सकेर सोमबार बेलुका स्वदेश फर्किएका छन्।







