रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुमवासी परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । साविक हाटीबगाई गाविस–६ क्षेत्रमा बसोबास गर्दै आएका ती परिवारले १३ वर्ष लामो प्रतीक्षापछि जग्गाको कानुनी स्वामित्व जनाउने प्रमाणपुर्जा हात पारेका हुन् ।
गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लाभग्राही परिवारलाई प्रमाणपुर्जा वितरण गरेका छन् । जिल्ला नापी कार्यालय रूपन्देहीका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो ।
ती परिवारको जग्गाको नापजाँच विसं २०७० मा नै सम्पन्न भइसकेको थियो । नापजाँच र नक्साङ्कनको काम सकिए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा प्रमाणपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको उक्त प्रक्रिया टुंगिएपछि गाउँपालिकाले एकै पटक १४८ परिवारलाई पुर्जा हस्तान्तरण गरेको हो ।
प्रमाणपुर्जा प्राप्त भएसँगै ती परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ । यसबाट जग्गाको स्वामित्वसम्बन्धी कानुनी पहिचान सुनिश्चित हुने र सम्पत्तिको सुरक्षा तथा उपयोगमा सहजता हुने अपेक्षा गरिएको छ ।







