मुख्य सामग्रीमा जानुहोस्

भारतको चिनियाँ कम्पनीप्रति खुकुलो नीतिले नेपालको ऊर्जा व्यापारमा सकारात्मक सम्भावना

भारतले चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावना देखिएको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायले यो सही समय भएकाले नेपालले विद्युत् व्यापारका लागि भारतसँग पहल गर्नुपर्ने बताएका…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
भारतको चिनियाँ कम्पनीप्रति खुकुलो नीतिले नेपालको ऊर्जा व्यापारमा सकारात्मक सम्भावना

भारत सरकारले चिनियाँ कम्पनीहरूप्रति लिएको खुकुलो नीतिले नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायले भारतले चिनियाँ कम्पनीलाई गरेको अवरोध फुकाइसकेकाले अब नेपालले विद्युत् व्यापारलगायतका क्षेत्रमा पहल गर्नुपर्ने बताएका छन्।

उनले भने, ‘यो सही समय हो। जे डर थियो, त्यो त फुक्यो, अब किन हामीलाई रोक्ने भन्दै हामीले नै पहल गर्नुपर्छ।’ उनले नेपालको बिजुली बेच्ने र खपत गर्ने समस्या रहेको उल्लेख गर्दै २७/२८ हजार मेगावाट बिजुली खासै ठूलो नभएको र व्यापारका लागि बाटो खोल्नुपर्नेमा जोड दिए।

उपाध्यायले प्रधानमन्त्री, मन्त्री तथा सचिवस्तरीय भ्रमण र बैठकमा भारतसँग पहल गर्नुपर्ने बताए। प्रक्रियागत विषयमा अलमल भए पनि माथिल्लो तहबाट छलफल गरेर समाधान खोज्नुपर्ने उनको भनाइ छ।

पछिल्लो दशकमा भारत र चीनबीचको द्विपक्षीय व्यापारमा उल्लेख्य वृद्धि भएको थियो। तर सन् २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच झडपपछि सम्बन्ध चिसिएको थियो। त्यसपछि भारतले चिनियाँ कम्पनीहरूविरुद्ध कडा नीति लिएको थियो, जसमा टिकटकजस्ता एपमाथि प्रतिबन्ध र ठेक्कामा भाग लिन रोक लगाउने निर्णय समावेश थिए। सन् २०१९/२०२० मा द्विपक्षीय व्यापार ५.९७ प्रतिशतले घटेर ८१.८७ अर्ब डलरमा सीमित भएको थियो। हाल भारतले चिनियाँ कम्पनीप्रति नीति खुकुलो बनाएपछि नेपालले ऊर्जा व्यापारमा पहल गर्नुपर्ने माग गरिएको छ।