अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा जारी हिंसा तथा अशान्तिका लागि प्रवासी, जिहादी र कम्युनिस्टलाई जिम्मेवार ठहर्याएका छन्। कन्सास राज्यको विचिटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फ्रान्सको पछिल्लो अवस्थालाई चेतावनीपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरे।
सभामा उनले आगामी मध्यावधि निर्वाचनको महत्त्वबारे चर्चा गरे र अमेरिकालाई पनि फ्रान्सजस्तै अवस्थाबाट जोगाउनुपर्ने भन्दै आफ्ना समर्थकलाई सचेत गराए। युरोपका वामपन्थी नेताहरूले पश्चिमी देशका मूल्य–मान्यतालाई कमजोर पार्ने खालको आप्रवासन नीति अँगालेको आरोप पनि उनले लगाए।
विश्वव्यापी वामपन्थी प्रभावमा रहेको युरोपले तेस्रो विश्वबाट लाखौँ प्रवासी भित्र्याइरहेको र तिनको पृष्ठभूमि पश्चिमी देशसँग मेल नखाने उनको भनाइ थियो। ती प्रवासीले फ्रान्सलाई नै बिगारिरहेको तथा आफ्नो देशमा भने त्यस्तो अवस्था आउन नदिने उनले बताए।
युरोपको स्थिति र अमेरिकाको तुलना गर्दै ट्रम्पले युरोपले गरेका भनिएका गल्तीबाट अमेरिकाले पाठ सिक्नुपर्ने धारणा राखे। पत्रकारहरूसँगको कुराकानीमा उनले यसअघि नै फ्रान्सका राष्ट्रपतिलाई देशको सीमा बन्द गर्न चेतावनी दिइसकेको दाबी गरे।
फ्रान्समा देखिएका घटनाको कारण विद्यालय वा अन्य केही नभई आप्रवासन नै रहेको उनले दोहोर्याए। ट्रम्पको यो अभिव्यक्ति आगामी मध्यावधि निर्वाचनअघि उनले गरिरहेको सभा–कार्यक्रमकै क्रममा आएको हो।







