मुख्य सामग्रीमा जानुहोस्

सामान्य वर्षामै पाँच करोडको तटबन्ध भत्कियो, कुतियाकभरवासी पुनः त्रासमा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरमा गत वर्ष पाँच करोड रुपैयाँको लागतमा निर्माण गरिएको तटबन्ध सामान्य वर्षाले नै भत्किएपछि स्थानीय पुनः त्रसित भएका छन्। महाकाली नदीमा बाढी नआउँदै बस्तीमा जम्मा भएको पानीले…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सामान्य वर्षामै पाँच करोडको तटबन्ध भत्कियो, कुतियाकभरवासी पुनः त्रासमा

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरका बासिन्दाले गत वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको तटबन्धबाट राहतको आशा गरेका थिए। तर महाकाली र जोगबुडा नदीको किनारमा बनेको उक्त तटबन्ध सामान्य वर्षाले नै भत्किएपछि उनीहरू पुनः बाढीको त्रासमा परेका छन्।

असार दोस्रो साताको वर्षापछि बस्तीमा जम्मा भएको पानीको कारण तटबन्ध भत्किएको स्थानीय बताउँछन्। ‘यस वर्ष तटबन्ध बनेपछि कटान रोकिने, सानोतिनो बाढीले अप्ठेरो नगर्ला भन्ने सोचेका थियौं, तर बाढी नआउँदै तटबन्ध भत्कियो,’ स्थानीय खडके बुढाले भने। उनका अनुसार तटबन्ध भत्केपछि स्थानीयले नगरपालिका र जिल्ला प्रशासनमा मर्मतका लागि माग गरेका थिए। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गत साता स्थलगत भ्रमण गरेपछि अहिले मर्मत कार्य सुरु भएको छ।

गत वर्ष नैनसिंह सुनार र एनबहादुर सुनारको जमिन कटान गरिरहेको महाकालीको बाढी नियन्त्रणका लागि झोलुंगे पुल हुँदै जिरो पोइन्टसम्म ७ सय मिटर तटबन्ध निर्माण गरिएको थियो। तर तटबन्ध निर्माणका क्रममा बस्तीको पानीको निकासको उचित व्यवस्था नगरिएकाले समस्या भएको वडा नं. १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले बताए। ‘एक/दुई ठाउँमा निकासका लागि ह्युमपाइप राख्न भनेका थियौं, तर राखेनन्,’ उनले भने, ‘अहिले यस्तो समस्या देखियो।’ उनका अनुसार अझै पनि निकासको व्यवस्था नहुँदा अर्को ठाउँमा तटबन्ध भत्किने जोखिम छ।

हाल भत्किएको भागमा अस्थायी रोकथामको लागि प्लास्टिकका बोरामा माटो भरेर पुरिने काम भइरहेको छ। नगरपालिका, नेपाली सेना, प्रहरी, स्थानीय र गैरसरकारी संस्थाको सहकार्यमा अस्थायी सुरक्षाका लागि करिब आधा काम सकिएको छ। तर जिरो पोइन्टमा तटबन्ध पूर्ण रूपमा भत्किसकेकाले महाकालीमा ठूलो बाढी आएमा बगाउने जोखिम उच्च रहेको वडाध्यक्ष सिंहले बताए।

दोधाराचाँदनी नगरपालिका प्रमुख किशोरकुमार लिम्बूका अनुसार थप कटान रोक्न तत्काल आपत्कालीन मर्मत गरिएको हो। उनले स्थानीयको श्रमदानमा क्षतिग्रस्त भागलाई अस्थायी रूपमा सुरक्षित बनाइएको जानकारी दिए। ‘अहिले तत्काल थप क्षति रोक्ने काम गरिएको छ। सम्बन्धित निकायसँग समन्वय गरेर दीर्घकालीन समाधानका लागि पनि पहल भइरहेको छ,’ उनले भने।

कुतियाकभर भौगोलिक रूपमा अत्यन्त संवेदनशील बस्ती हो। यो एकातर्फ जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीको संगम क्षेत्रमा रहेको छ, जहाँ दुवै नदीको पानीले घेरिएको छ। नदीले धार परिवर्तन गरेपछि यो क्षेत्र टापुजस्तै बनेको छ र वर्षायाममा मुख्य भूभागसँगको सम्पर्क समेत प्रभावित हुन्छ। ४२ परिवारको बसोबास रहेको यहाँ बाढी आएमा भाग्ने सुरक्षित ठाउँसमेत छैन। गत वर्ष नेपाली सेना, नगरपालिका र गैरसरकारी संस्थाको सहयोगमा दुई सुरक्षित घर (आश्रयस्थल) निर्माण गरिएका छन्, जुन बाढीका बेला स्थानीयका लागि ठूलो भरोसा बनेको छ।

कुतियाकभर सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव बसन्ती सुनारले समुदायस्तरमा विपद् पूर्वतयारीलाई प्राथमिकता दिइएको बताइन्। ‘अहिले सुरक्षित आश्रयस्थल भएकाले पहिलेभन्दा धेरै सहज भएको छ, तर नदी नियन्त्रणको दिगो योजना नहुँदासम्म हरेक वर्ष यही चिन्ता दोहोरिन्छ,’ उनले भनिन्। स्थानीयको भनाइमा तटबन्ध निर्माणसँगै पानीको निकासको व्यवस्थामा पनि ध्यान दिनुपर्छ। मनसुन अझै प्रारम्भिक चरणमै रहेकाले कुतियाकभरवासीको चिन्ता झन् बढेको छ।