मुख्य सामग्रीमा जानुहोस्

नौ बुँदे सहमतिपछि मिटरब्याजपीडित घर फर्किए, आन्दोलन स्थगित

६ दिनदेखि निजगढमा रोकिएका मिटरब्याजपीडितहरु सरकारसँग नौ बुँदे सहमति भएपछि न्यायको आशासहित घर फर्किएका छन्। उनीहरुले सहमतिको पूर्ण कार्यान्वयनमा जोड दिँदै सरकारले प्रतिबद्धता पूरा नगरे पुनः सशक्त आन्दोलन गर्ने चेतावनी…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
नौ बुँदे सहमतिपछि मिटरब्याजपीडित घर फर्किए, आन्दोलन स्थगित

निजगढ — न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंका लागि पैदलयात्रामा निस्किएका मिटरब्याजपीडितहरु सरकारसँग नौ बुँदे सहमति भएसँगै घर फर्किएका छन् । आन्दोलनका क्रममा काठमाडौं जान ६ दिनदेखि बाराको निजगढस्थित उद्योण वाणिज्य संघको भवनमा रोकिएका पीडितहरु सरकारी वार्ता टोली र आफ्ना अगुवाहरुबीच सहमतिपछि न्यायको आशासहित घर फर्किएको मिटरब्याज पैदल मार्चकी अगुवा लक्ष्मी घिमिरेले बताइन् ।

शुक्रबार काठमाडौंमा सरकारी वार्ता टोली र पीडितको वार्ता टोलीबीच नौ बुँदे सम्झौता भएको थियो । निकै कष्टकर बसाइँपछि सरकारसितको सहमतिबाट निकास खोज्दै सबै पीडितहरु निजगढबाट घर फर्कन थालेका हुन् । घिमिरेले भनिन्, 'सरकारसँग ९ बुँदे सहमति त भएको छ, तर हाम्रो मुख्य चासो यसको पूर्ण कार्यान्वयनमा छ। यदि सरकारले सहमति अनुसार आफ्ना प्रतिबद्धता पूरा गरेन भने हामी पुनः निजगढबाटै सशक्त रूपमा पैदल मार्च र संघर्षका कार्यक्रम सुरु गर्न बाध्य हुनेछौं।'

वर्षौंदेखि साहुमहाजनको शोषण र अन्याय खेप्दै आएका पीडितहरुका अनुहारमा सहमतिसँगै लामो समयपछि खुसी र सन्तोष देखिएको छ । घिमिरेका अनुसार यो सहमति पीडितहरुको लामो संघर्षको आंशिक जित हो तर आन्दोलन पूर्णरुपमा समाप्त नभई तत्कालका लागि स्थगित मात्र गरिएको छ । पीडित शिवशंकर महतोले भने, 'मिटरब्याजी साहुका कारण थातथलो गुमाउने अवस्थामा पुगेका, चर्को ब्याजको दलदलमा फसेका र मानसिक तथा शारीरिक शोषण बेहोरेका सयौं पीडितहरु न्याय पाउने बलियो आश्वासन बोकेर आ–आफ्नो घरतर्फ लागेका छन्।'

यसअघि जनकपुरबाट हिँडेका पीडितहरुले मधेसका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पैदल पुगेर सरकारलाई दबाब दिने रणनीति बनाएका थिए । सरकारले पीडितका समस्या समाधान गर्न कानुनी र व्यावहारिक कदम चाल्ने प्रतिबद्धता जनाएपछि हाललाई यो आन्दोलनले विश्राम पाएको छ । जनकपुर घरभएकी पीडित चन्दन देवी राउतले भनिन्, 'महाजनको पीडा हाम्रो जीवनको लागि काल भएको छ। आज खुसी हुँदै फर्किएका छौं। सरकारले फेरी हामीलाई दुःखी नबनाओस्।'

जनकपुरबाट निजगढ पुगेका पीडितहरु सोमबारदेखि त्यही बसिरहेका थिए । मंगलबार बिहान गृहमन्त्री सुधन गुरुङ पीडितलाई भेट्न आएका थिए । उनले दुई दिन पीडितहरुसित वार्ता गरेपछि राजधानी फर्किएका थिए । जनकपुरबाट निजगढ पुग्दा २ सय जना हाराहारी रहेका पीडितहरु मंगलबार चितवन, नवलपरासीबाट पनि थपिएर ५ सय जना पुगेका थिए ।