जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन भारी वर्षाको चेतावनी जारी गरेको छ। विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको छ, जसमा मेलम्ची वर्षामापन केन्द्रमा १०५.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भन्दै अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन तथा आवश्यक परे रोक्न पनि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
उच्च जोखिममा २२ जिल्ला
प्राधिकरणले विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ। यी जिल्लाहरूमा बाढीपहिरोको उच्च जोखिम रहेको मौसमविद्हरूले जनाएका छन्।
सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिइन्। उनले जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडर तयारी अवस्थामा राख्न तथा आवश्यक परे जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको बताइन्।

