सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि थारु समुदायमा रोजगारी, शिक्षा र स्वावलम्बनको नयाँ युग सुरु भएको छ। मुक्त कमैयाहरूले सरकारी सहयोग र सीपमूलक तालिमले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका छन्।
कञ्चनपुरको बेदकोट–५ धरमपुरका रामदास चौधरीको परिवार तीन पुस्तासम्म कमैया बस्न बाध्य थियो। सरकारले कमैया मुक्त गरेपछि उनले पाँच कट्ठा जमिन र घर बनाउन आर्थिक सहयोग पाए। कपाल काट्ने तालिम लिएर उनले बेदकोटको लालपुरमा सैलुन सञ्चालन गरे। अहिले उनका छोरा पनि यही पेसामा छन्। 'थाहा फर्केदेखि नै कमैया थिएँ। मुक्ति भएपछि दासत्वबाट मुक्त भएजस्तो लाग्यो,' उनले भने।
धरमपुरकै मेघनाथ डगौंरा अहिले घर निर्माणका मिस्त्री हुन्। कमैया मुक्तिपछि गैरसरकारी संस्थाबाट तालिम लिएर उनले यो पेसा सिके। 'अहिले मन लागे काम गर्छौँ, मन नलागे घरमै बस्छौँ,' उनले भने। उनका अनुसार कमैया हुँदा आफ्नो इच्छा अनुसार काम गर्न पाइँदैनथ्यो।
कैलालीको हसुलियाका सुवर्णराम चौधरी कमैया मुक्तिपछि मजदुरी गर्न महेन्द्रनगर पुगे। त्यहाँ उनले घर निर्माणमा मिस्त्रीको काम सिके र अहिले सफल ठेकेदार बनेका छन्। उनले धनगढीमा घडेरी किनेर घर बनाएका छन् र छोराहरूलाई उच्च शिक्षा दिइरहेका छन्। 'अहिले घर निर्माणदेखि अन्य काममा पनि थारु समुदायका कामदार बढी छन्,' उनले भने।
धरमपुरकी सुक्नी चौधरीले कमैया मुक्तिले आफ्नो जीवन परिवर्तन भएको बताइन्। 'मुक्तिको घोषणा भएपछि मात्रै हामीमा आशा पलायो,' उनले भनिन्। तर मालिकबाट पाएको अपमान र दुःख उनी बिर्सन सकेकी छैनन्।
सबैको अवस्था भने समान छैन। कतिपयलाई नदी वा जंगलको किनारमा जमिन दिइएकाले नदी कटानले उनीहरू पुनः विस्थापित भएका छन्। केही परिवारको अवस्था फेरि उस्तै बनेको छ। तर पनि, सीप सिकेर रोजगारीमा जोडिनेको संख्या बढ्दो छ।

