भीमफेदी–६ स्थित चिसापानी पुल मर्मतपछि पुन: सञ्चालनमा आएको छ। आइतबारदेखि उक्त पुलबाट सवारी साधनहरू आउजाउ गर्न थालेका छन्। हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी हुँदै काठमाडौं जाने छोटो वैकल्पिक मार्गमा पर्ने यो पुल करिब चार दशक पुरानो हो।
पुल मर्मतको आवश्यकता
पुलमा बिच्छ्याइएका काठका भाग मक्किएको र फलामका पाताहरू उप्किएकाले सवारी आवागमनमा समस्या भइरहेको थियो। वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नविन सिंहका अनुसार पानीमा भिजेर निरन्तर काम गरेकाले मर्मत कार्य एक सातामै सम्भव भएको हो। मर्मत कार्य असार २७ गतेदेखि सुरु गरिएको थियो।
मर्मत प्रक्रिया र सञ्चालन
मर्मतका लागि भैंसे–भीमफेदी सडक खण्डमा रहेको प्रयोगविहीन फलामे ट्रष्ट ब्रिजको फलाम झिकेर चिसापानी पुलमा बिच्छ्याइएको थियो। मर्मत अवधिभर खोलामा निर्माण गरिएको डाइभर्सनबाट सवारी साधन चलाइएको थियो। तीन मिटर चौडा र ४० मिटर लामो उक्त पुलबाट दैनिक दुई हजारभन्दा बढी सवारी साधन आउजाउ गर्ने गरेको निर्देशनालयको भनाइ छ।

