विराटनगर — भोटेकोशी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकारका मन्त्रिपरिषद् सदस्य र सचिवालयमा कार्यरत कर्मचारीले एक साताको पारिश्रमिक सहयोग गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोही व्यहोराको निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् सदस्य, पदाधिकारी तथा सचिवालयका कर्मचारीको सात दिनको पारिश्रमिक रकम सहयोगस्वरूप प्रदान गरिनेछ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले बैठकमा भएका निर्णयबारे जानकारी दिए ।
सचिव खटाइको निर्णय
मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोगमा र प्रदेश सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाउने निर्णय पनि गरेको छ ।
कार्यदलको म्याद ६० दिन थप
बैठकले कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप गर्ने निर्णय गरेको छ । यसैगरी प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेकपाले संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयमा लेखी पठाउने निर्णय पनि बैठकले गरेको मन्त्री शेर्पाले जानकारी दिए ।







