लगातार परेको हिमपातका कारण अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडकखण्ड हिउँ हटाएर सञ्चालनमा ल्याइएको छ। उच्च हिमाली भेगमा पर्ने यो सडकखण्ड खुल्ने क्रममा भएको ढिलाइले हिल्सा नाका हुँदै हुने आवतजावत प्रभावित बनेको थियो।
नाम्खा गाउँपालिकाको नारा लेक भेगमा केही स्थानमा चारदेखि पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समय लागेको सडक योजना प्रमुख बेलबहादुर नेपालीले बताए। उनका अनुसार यो क्षेत्रमा तीन पटकसम्म हिमपात भएको थियो, जसले हिउँ पन्छाउने कामलाई चुनौतीपूर्ण बनाएको थियो।
समुद्री सतहबाट चार हजार पाँच सय मिटरभन्दा माथि रहेको नारा लेकमा हिउँ बढी जम्ने गर्छ। सिमकोटदेखि चीनको सीमावर्ती हिल्सासम्म करिब ९५ किलोमिटर रहेको यो सडकमध्ये यारीदेखि हिल्सासम्मको करिब १५ किलोमिटर खण्डमा बाक्लो हिउँ थुप्रिएको थियो। त्यस्तै ठाडोढुङ्गादेखि हिल्सातर्फको भागमा पनि हिउँ बढी रहेको आयोजनाले जनाएको छ।
हिउँ हटाउन सडक योजना कार्यालयले आफ्नै जेसीबी, इन्धन र मेसिन अपरेटर परिचालन गरेको नेपालीले जानकारी दिए। उपकरण र जनशक्तिको व्यवस्थापन आफैँ गरेर सडक सुचारु गरिएको उनको भनाइ छ।
दसैँमा घर फर्किनेलाई सहज
सडक बन्द हुँदा हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट भेगमा व्यापार र रोजगारीका सिलसिलामा पुगेका नेपाली प्रभावित भएका थिए। सडक अवरुद्ध रहँदा हिल्सा भेगमा रहेका पर्यटक र स्थानीयवासीको आवागमन रोकिएको थियो।
चीनको पुराङ क्षेत्रमा व्यापार तथा रोजगारीका लागि गएका हुम्लालगायतका नेपाली पनि सडक खुलेपछि हिल्सा नाका हुँदै नेपाल भित्रिएर घरतर्फ फर्किन थालेका छन्। दसैँ मनाउन घर जाने तयारीमा रहेका नेपालीका लागि सडक सञ्चालनमा आउनु राहत बनेको छ।
५५ किलोमिटर खण्डमा ग्राभेलिङ
९५ किलोमिटर लामो सिमकोट–हिल्सा सडकखण्डमध्ये करिब ५५ किलोमिटरमा ग्राभेल गरिएको छ भने बाँकी भागमा ट्र्याक खोलिएको अवस्था रहेको आयोजनाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा पर्ने यो सडकमा हरेक वर्ष हिमपातका कारण आवागमन प्रभावित हुने गरेको छ। यसपटक पनि बाक्लो हिउँ जमेपछि उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाइएको र हिल्सा क्षेत्रको आवागमन पुनः सहज बनेको आयोजनाले जनाएको छ।







