सुदूरपश्चिम प्रदेशसभाको बैठक अन्तिम समयमा स्थगित भएको छ। बिहीबार बिहान ८ बजे बस्ने गरी तयारी गरिएको बैठक सरकारको आग्रहपछि सारिएर २४ आश्विनमा पुगेको प्रदेशसभा सचिवालयले जनाएको छ। पुनः तोकिएको बैठक पनि बिहान ८ बजे नै सुरु हुनेछ।
चालु आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरी पारित गराउने उद्देश्यले प्रदेश सरकारले बिहीबारको बैठक डाकेको थियो। तर तोकिएको समयमा बैठक बस्न सकेन। सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार सरकारले नै समय परिवर्तनको अनुरोध गरेपछि नयाँ मिति तय भएको हो।
बिहीबार बिहानको बैठकका लागि सचिवालयले तयारी गरे पनि बैठक बस्न नसकेको र सरकारको अनुरोधमै २४ आश्विन बिहान ८ बजेका लागि समय निर्धारण गरिएको बोगटीले जानकारी दिए।
बजेट शून्यताको अवस्था
सुदूरपश्चिम प्रदेशमा हाल बजेट शून्यताको अवस्था रहेको छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो स्थिति आएको हो।
गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन भएको थियो। सरकार फेरबदलसँगै बजेट प्रक्रिया रोकिएको अवस्थामा प्रदेशसभाको बैठक पनि स्थगित हुँदा बजेट पारित हुने काम थप ढिलाइ भएको छ।







