मुख्य सामग्रीमा जानुहोस्

दिल्लीको जन्तर-मन्तरमा आइसाका तीन विद्यार्थीले २३ दिनपछि तोडे आमरण अनशन

दिल्लीको जन्तर-मन्तरमा अखिल भारतीय छात्र संघ (आइसा) का तीन विद्यार्थी नेहा, आमीन र मनीषले २३ दिनपछि आमरण अनशन तोडेका छन्। विभिन्न सांसद, अधिवक्ता र कलाकारहरूको आग्रहपछि उनीहरूले भोकहडताल अन्त्य गरेको बताइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

दिल्लीको जन्तर-मन्तरमा अखिल भारतीय छात्र संघ (आइसा) का तीन विद्यार्थी नेहा, आमीन र मनीषले २३ औं दिन आमरण अनशन तोडेका छन्। बीबीसी हिन्दीका अनुसार, विभिन्न सामाजिक कार्यकर्ता, सांसद तथा नेताहरूको अपिलपछि उनीहरूले भोकहडताल अन्त्य गरे।

शिक्षा प्रणाली सुधार र केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामाको माग गर्दै उनीहरू गत जुन २८ देखि अनिश्चितकालीन भोक हडतालमा थिए। अनशन तोडाउनका लागि सांसदहरू मनोज झा, राजाराम सिंह र अमरा राम नेतृत्वको प्रतिनिधिमण्डल जन्तर-मन्तर पुगेको थियो। साथै योगेन्द्र यादव, अधिवक्ता प्रशान्त भूषण, प्राध्यापक अतुल सूद, कलाकार प्रकाश राज र शबाना आजमीले पनि विद्यार्थीलाई अनशन तोड्न अपिल गरेका थिए। प्रतिनिधिमण्डलसँगको कुराकानीपछि उनीहरूले अनशन तोडेको आइसाले जनाएको छ। सांसद मनोज झाले विद्यार्थी आन्दोलनले सरकारलाई थुप्रै मुद्दामा बोल्न बाध्य पारेको बताए।

यता, शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङ्चुकले पनि सोही मागसहित अनिश्चितकालीन आमरण अनशन जारी राखेका छन्। उनलाई शनिबार दिल्ली प्रहरीले जबर्जस्ती उठाएर सफदरजंग अस्पताल पुर्याएको छ। वाङ्चुकले आफ्नो एक्स ह्यान्डलमा अनशन अन्त्यका लागि तीन सर्त अघि सारेका छन् — सरकारले प्रश्नपत्र चुहावटजस्ता शैक्षिक अव्यवस्थाप्रति जिम्मेवारी स्वीकार गर्नुपर्ने, सांसद तथा सीजेपीका नेताहरूले संसद्मा मुद्दा उठाउने प्रतिबद्धता जनाउनुपर्ने, वा स्वास्थ्य कारणले अनशन जारी राख्न नसकिने अवस्था आउनुपर्ने।

जन्तर-मन्तर क्षेत्रमा करिब आठ हजार युवा भेला भएको दिल्ली प्रहरीले जनाएको छ। वाङ्चुकको आह्वानअनुसार सोमबार बिहान ९ बजे संसद्सम्म मार्चको कार्यक्रम थियो, तर प्रहरीले ठाउँठाउँमा ब्यारिकेड राखेकाले मार्च बीचमै रोकिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले युवाहरूमाथि लाठीचार्जसमेत गरेको छ। सीजेपीले सरकारसँग जवाफदेहिता माग गरेको र वार्ताका लागि ढोका खुला रहेको बताउँदै आएको छ।