मुख्य सामग्रीमा जानुहोस्

पश्चिम नवलपरासीका ५३९५ उखु किसानलाई समयमै अनुदान भुक्तानी

पश्चिम नवलपरासीका ५ हजार ३९५ उखु किसानले गत आर्थिक वर्षको अनुदान समयमै पाएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय परासीले १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी रकम असार मसान्तअघि नै किसानको खातामा पठाइसकेको छ। तर, ४६४ किसानको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

पश्चिम नवलपरासीका उखु किसानलाई आर्थिक वर्ष २०८२/८३ को अनुदान रकम समयमै भुक्तानी भएको छ। जिल्लाका ५ हजार ३ सय ९५ किसानको खातामा १२ करोड ६१ लाख ७७ हजार ३ सय ५ रुपैयाँ असार मसान्तअगाडि नै जम्मा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय परासीका प्रमुख कमल सापकोटाले जानकारी दिए।

यद्यपि, ४ सय ६४ जना किसानले आवश्यक कागजात र विवरण पेश नगरेकाले ३५ लाख ६८ हजार ९ सय १४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको सापकोटाले बताए। उनका अनुसार उक्त रकम कागजात पूरा भएपछि मात्रै किसानको खातामा जानेछ।

गत आर्थिक वर्षमा बागमती चिनी उद्योगले ३ हजार ५ सय १४ जना किसानको ११ लाख ५४ हजार ४ सय ३४ क्विन्टल उखु क्रसिङ गरेको थियो भने लुम्बिनी चिनी उद्योगले १ हजार ८ सय ८१ किसानको ६ लाख ९९ हजार ८३ क्विन्टल उखु खरिद गरेको थियो। जिल्लामा रहेका चार चिनी मिलमध्ये बागमती खाँडसारी चिनी मिल र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा थिए।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक किसान संघका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले सरकारले अनुदान रकम समयमै भुक्तानी गरेर किसानलाई राहत पुर्याएको बताए।