शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष) बाट २०५८ सालमा विस्थापित भएकाहरूको पीडा अझै सकिएको छैन । सरकारले वैकल्पिक व्यवस्था नगरेपछि उनीहरू २०६४ सालदेखि विभिन्न ठाउँका १७ वटा शिविरमा बस्दै आएका छन् । हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भगतपुरमा रहेको बस्ती डुबानमा परेको छ ।
शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समिति, कञ्चनपुरका अध्यक्ष जयबहादुर रोकायाका अनुसार करिब ५०० परिवार डुबानबाट प्रभावित भएका छन् । उनले भने, “हामी डुबानमा परेको करिब एक हप्ता भइसक्यो । अहिले यहाँ पानी भरिएको छ, मानिसहरूलाई खान आपत् भइरहेको छ ।”
डुबानको अवस्था र राहत अभाव
प्रभावित परिवारहरू हाल वन डिभिजन कार्यालयअगाडिका दुई–तीन वटा जीर्ण भवनमा बसिरहेका छन् । ती भवनमा रुख–बिरुवा उम्रिसकेका छन् र पर्खालहरू भत्किएका छन् । रोकायाले भने, “अहिले त्यही जीर्ण घरमा बसेर गुजारा गरिरहेका छौं ।”
प्रमुख जिल्ला अधिकारी सोमबार आफैं पैदल हिँडेर शिविरमा पुगेको रोकायाले बताए । तर, राहतको कुनै ठोस व्यवस्था नभएको उनको गुनासो छ । उनले थपे, “हामीले सबैलाई खबर गरेका छौं, तर अझै पनि त्रिपाल, खाद्यान्न, झुल, म्याटजस्ता आधारभूत सामग्रीको व्यवस्था भएको छैन ।”
अधिकारसम्पन्न आयोगको माग
विस्थापितहरूले २०५८ सालदेखि न्यायका लागि विभिन्न पहल गरिसकेका छन् । ३४ वटा आयोग गठन भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन । रोकाया भन्छन्, “जति पटक सहमति भए पनि कार्यान्वयन भएन, त्यसैले हामी आन्दोलनरत छौं ।”
उनीहरूको मुख्य माग अधिकारसम्पन्न आयोग गठन गरेर स्थायी बासको व्यवस्था गर्नुपर्ने हो । २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा २ हजार ४७३ परिवार विस्थापित भएकोमा सट्टाभर्नाको शर्त पूरा नभएको उनीहरूको आरोप छ ।
पीडितहरूले सुरक्षित अस्थायी बासको पनि माग गरेका छन् । हाल बसिरहेको स्थान बर्खामा बस्न लायक नभएको उनीहरू बताउँछन् । यसअघि विभिन्न चरणमा भएका आन्दोलन र अनशनले पनि सुनुवाइ नपाएको रोकायाको भनाइ छ ।
