मुख्य सामग्रीमा जानुहोस्

मङ्सिरमा एनएएस आइटी एक्स्पो, डिजिटल रूपान्तरण र एआईमा केन्द्रित

‘एनएएस आइटी एक्स्पो’ नाम दिइएको उक्त मेलामा डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र क्लाउड कम्प्युटिङजस्ता विषयमा जानकारी दिइनेछ । मेलाले प्रविधि क्षेत्रका नवप्रवर्तन, सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्ने…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रवृत्ति र प्रविधिबारे जानकारी दिने उद्देश्यले आगामी मङ्सिरमा एक मेला हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस (एनएएस) को आयोजनामा ‘एनएएस आइटी एक्स्पो’ नामक उक्त मेला मङ्सिर ५ र ६ गते (नोभेम्बर २१–२२) आयोजना हुनेछ ।

बुधबार पत्रकार सम्मेलन गरी आयोजकले मेलाको बारेमा जानकारी दिएको हो । मेलाले नेपालको प्रविधि क्षेत्र, व्यवसायी, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमीलाई एकै स्थानमा ल्याएर नवप्रवर्तन, सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

प्रदर्शनी र ज्ञानमूलक सत्र

मेलामा अग्रणी आइटी कम्पनी तथा नवप्रवर्तनशील स्टार्टअपले आफ्ना प्रविधि प्रदर्शन गर्नेछन् । साथै, सूचना प्रविधि क्षेत्रका चुनौती समाधान गर्ने उत्पादन र प्रविधिका समाधान पनि प्रस्तुत गरिनेछ । डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र उदीयमान प्रविधिसम्बन्धी ज्ञानमूलक सत्र पनि सञ्चालन हुनेछन् ।

आयोजकका अनुसार मेलाले नेपालको बढ्दो प्रविधि क्षमतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै स्थानीय आइटी समाधानको प्रवद्र्धन गर्नेछ । साथै, प्रविधि कम्पनी र विभिन्न व्यवसायबीच सहकार्य बढाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, ज्ञान आदानप्रदान गर्ने र नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सहभागिता र अपेक्षा

उक्त मेलामा सरकारी प्रतिनिधि, विभिन्न देशका राजदूत, लगानीकर्ता, व्यावसायिक संस्थाका प्रतिनिधि, स्टार्टअप, विद्यार्थी र प्रविधिप्रेमीको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ । मेलाबाट नयाँ साझेदारी, व्यापारिक अवसर र नेपालको प्रविधि क्षेत्रका पछिल्ला विकासबारे जानकारी प्राप्त गर्ने अवसर मिल्ने विश्वास लिइएको छ ।