नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अब सार्वजनिक प्रतिस्पर्धामा प्रवेश गरेको छ । पूर्वसभापति शेरबहादुर देउवानिकट समूहले २९ साउनमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । यो भेलाले पार्टीभित्रको विभाजनलाई नयाँ चरणमा पुर्याउने विश्लेषण गरिएको छ ।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापन इतर पक्षका नेताहरूले राष्ट्रिय भेलाको मिति घोषणा गरेका हुन् । कार्यक्रमको सभापतित्व गरेका नेता प्रकाशमान सिंहले २९ साउनको भेलाको जानकारी दिए । यसलाई पार्टी विभाजनको औपचारिक घोषणा नभए पनि फुटको दिशामा उठाइएको कदमको रूपमा हेरिएको छ ।
थापाको अडान
पार्टी सभापति गगन थापाले भने आफू ब्रेकविना अघि बढ्ने संकेत दिएका छन् । राजधानीमा आयोजित 'ग्रीन रन' कार्यक्रमपछि उनले भनेका थिए, 'गाडीमा ब्रेक नहुनेले सरकार चलाउँदैछ, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष ।' उनले पार्टीभित्र सत्तामा रहेका देउवा पक्षसँग सम्झौता नहुने स्पष्ट पारेका छन् ।
थापा लगायतका नेताहरू जलवायु परिवर्तनको नारामा दौडिएकै दिन इतर पक्षले स्मृति दिवसको कार्यक्रम गरेको थियो । त्यस कार्यक्रममा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति थापालाई पार्टी एकताका लागि पहल नगरे आफूहरू निष्क्रिय नबस्ने चेतावनी दिए । उनले भने, 'कोही पनि निस्क्रिय बस्नेवाला छैनौं । हामी युवालाई अघि सारेर युवाहरूको रक्षाकवच भएर हिँड्न तयार छौं ।'
नेताहरूको असन्तुष्टि
कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शासन जन्मिएको टिप्पणी गरे । उनले भने, 'नेपाली कांग्रेस पनि कताकता हुकुमी शासनको तरिकाले चलिराखेको मैले महशुस गरिराखेको छ ।' पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताए । उनले सभापति थापालाई कपट नराखी एकताको पहल गर्न आग्रह गरे ।
पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रतर्फ जानुलाई पश्चगमनको संज्ञा दिए । पूर्वमहामन्त्री डा. शशांक कोइरालाले असमझदारी र अविश्वासले पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिए । पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति थापामा कांग्रेसको आत्मा नभएको टिप्पणी गरे ।
नेता डा. प्रकाशशरण महतले सभापति थापालाई एक्लै चलाउने रोग लागेको आरोप लगाए । उनले भने, 'गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, तर आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ ।' नेता एनपी साउदले पार्टी विभाजित अवस्थामा रहेको भन्दै कार्यक्रममा सहभागीहरू दास र लास नभएको बताए । नेता मोहनबहादुर बस्नेतले तत्काल नयाँ पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी एकताका लागि आफूहरू लचक रहेको तर नजरअन्दाज गरिए पाइला नरोकिने चेतावनी दिए । उनले भने, 'यदी हामीलाई बाध्य बनाउन थाल्नुभयो भने समय टाढा छैन । शुभ मुहुर्त सुरु भएको छ ।'
