नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी नेपालकै सबैभन्दा ठूलो सदस्य संख्या भएको दल बन्ने दाबी गरेका छन्। बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
महामन्त्री पौडेलले पार्टीले डिजिटल नेटवर्कको माध्यमबाट सबै सदस्यहरूलाई जोड्ने काम भइरहेको उल्लेख गर्दै यसले पारदर्शिता र समन्वयमा सहजता ल्याउने विश्वास व्यक्त गरे।
“अब केन्द्रीय कार्यालयले सदस्यहरूलाई सूचना पुर्याउन विज्ञापन गरिरहनुपर्दैन। डिजिटल नेटवर्कभित्र सूचना हालिदिएपछि त्यो सबैत्र पुग्छ। त्यसैले अब नेपालमा सबैभन्दा बढी सदस्य भएको पार्टी नेपाली कांग्रेस बन्दैछ,” पौडेलले भने।
उनले सबै सदस्यहरू डिजिटल नेटवर्कमा जोडिएको एकमात्र पार्टी नेपाली कांग्रेस बन्ने दाबी गरे। उनका अनुसार यसले सदस्य र नेतृत्वबीच समन्वय तथा पारदर्शितामा सुधार ल्याउनेछ।
पौडेलले थपे, “सबै सदस्य डिजिटल नेटवर्कमा जोडिएको अवस्था बन्नेछ। आजको दुनियाँमा त्यस्तो संस्था मात्र धनी र सम्पन्न हुन्छ। यसमा हामीले गर्व गर्न जरुरी छ।”
नेपाली कांग्रेसले हालै सदस्यता विस्तार तथा डिजिटलीकरणलाई प्राथमिकता दिँदै आएको छ। महामन्त्री पौडेलको भनाइले पार्टीले यस दिशामा गरेको प्रगतिलाई संकेत गरेको छ।
