मुख्य सामग्रीमा जानुहोस्

भदौ २३–२४ को जेनजी आन्दोलन द्वन्द्वकालको माओवादीभन्दा बढी ध्वंसात्मक : ओली

अध्यक्ष ओलीले भदौ २३–२४ को आन्दोलनलाई इतिहासमा कल्पना नै नगरिएको ध्वंसात्मक घटना भएको बताए। उनले पूर्वप्रधानन्यायाधीशको अगुवाइमा वैधानिक सरकारविरुद्ध असंवैधानिक गतिविधि भएको दाबी गरे। लोकतन्त्र अपरण भएको भन्दै उनले यसको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नेपालको इतिहासमै सबैभन्दा धेरै ध्वंसात्मक भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आन्दोलनका क्रममा मार्ने, मराउने र आगजनी गर्ने जस्ता घटना भएको उल्लेख गरे।

ओलीले तत्कालीन माओवादी सशस्त्र विद्रोहको तुलनामा यो आन्दोलनले समाजलाई बढी भयभीत बनाएको दाबी गरे। ‘माओवादीले सत्ता कब्जा गर्न हिंसात्मक बाटो रोज्यो, तर समाजलाई भयमा राख्ने क्रियाकलाप गरेन’, उनले भने, ‘भदौ २३–२४ मा जुन खालको मार्ने मराउने, आगजनी गराउने भयो, त्यो नेपालको इतिहासमा कल्पना गर्नै नसकिने घटना हो।’

जेनजी आन्दोलनमाथि आरोप

अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई अवैध तरिकाले अपदस्थ गरिएको आरोप लगाए। उनका अनुसार पूर्वप्रधानन्यायाधीशको अगुवाइमा संविधानको धाराविपरीत क्रियाकलाप गरियो। ‘अवैध सिफारिसमा जननिर्वाचित संसद् भंग गर्ने काम असंवैधानिक तरिकाले भयो’, उनले भने।

ओलीले लोकतन्त्र खतरामा परेको टिप्पणी पनि गरे। ‘लोकतन्त्र कहाँ छ अहिले? लोकतन्त्र अपरण भएको छ। लोकतन्त्र वापसी चाहिएको छ’, उनले आक्रोश पोखे।

विभिन्न देशमा चुनाव मात्रै, लोकतन्त्र नभएको टिप्पणी

कार्यक्रममा ओलीले विश्वका विभिन्न देशमा चुनाव त हुने तर लोकतन्त्र नहुने अवस्था रहेको बताए। नेपालमा पनि लोकतन्त्रको स्थितिबारे बोल्न जिब्रो चपाइरहनु नपर्ने उनको भनाइ थियो। उनले भदौ २३–२४ को घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भविष्यमा यस्ता क्रियाकलाप नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने बताए।