नबिल बैंकले प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सलेन्स २०२६ मा नेपालको उत्कृष्ट बैंकको उपाधि जितेको छ। यसका साथै बैंकले 'ईएसजीको लागि उत्कृष्ट बैंक' र 'एसएमईको लागि उत्कृष्ट बैंक' गरी तीन विधामा पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ।
युरोमनी अवार्ड्स फर एक्सलेन्सलाई बैंकिङ उद्योगको सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। बैंकको प्रेस विज्ञप्ति अनुसार यी अवार्डहरूले बैंकको वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास, तथा साना तथा मध्यम उद्यम (एसएमई) का लागि समर्थनलाई मान्यता दिएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यी अवार्डहरूले गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने, दिगो वृद्धिलाई अगाडि बढाउने र नेपालको उद्यमशीलता वातावरणलाई बलियो बनाउने बैंकको प्रतिबद्धतालाई उजागर गरेको बताए। उनले यो उपलब्धिका लागि ग्राहक, कर्मचारी, सेयरधनी र साझेदारहरूलाई धन्यवाद दिए।
उत्कृष्ट बैंक अवार्डले बैंकको वित्तीय बल, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल बैंकिङ पहल र बजार नेतृत्वलाई मान्यता दिएको छ। ईएसजी अवार्डले जिम्मेवार ऋण, हरित वित्तिय तथा सामाजिक प्रभावका पहलहरू मार्फत बैंकिङ सञ्चालनमा दिगोपनलाई एकीकृत गर्ने बैंकको प्रयासलाई स्वीकार गरेको छ। एसएमई अवार्डले विशेष वित्तीय समाधान र सल्लाहकार सेवाहरू मार्फत नेपालको एसएमई क्षेत्रलाई सहयोग पुर्याएकोमा केन्द्रित छ।
नबिल बैंकले हाल देशभर २६४ शाखा र ३१५ एटीएमको नेटवर्क मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। बैंकले डिजिटल नवप्रवर्तन, वित्तीय समावेशीकरण, दिगो बैंकिङ र ग्राहक सेवामा लगानी जारी राख्ने प्रतिबद्धता जनाएको छ।

