मकवानपुर प्रहरीले तीन भारतीय नागरिक र एक होटल सञ्चालकलाई अनलाइन ठगीको आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय हेटौंडाको संयुक्त टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको पटना, विहारका इन्द्रजित सरकार (२७), सहर्षजित सरकार (२०), अमन राज (२३) र हेटौंडा–१० मा रहेको वस्तोला होटलका सञ्चालक दीपक वस्तोला (३७) रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त समूहले मोबाइल उपकरण प्रयोग गरी टेलिग्राम र ह्वाट्सएप जस्ता एपमार्फत सञ्जाल सिर्जना गरी पीडितलाई विभिन्न प्रस्ताव देखाएर अनलाइन ठगी गरेको खुलेको छ। उनीहरूले ती सन्देश एपमार्फत नै वित्तीय कारोबार गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। आरोपित सबैलाई अनलाइन ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरले अनुसन्धानका लागि म्याद दिएको छ।
प्रहरीले ठगीको सिकार भएको आशंका गर्ने जो कोहीलाई पनि आरोपितले प्रयोग गरेको प्रयोगकर्ता आईडी वा फोन नम्बरसहित आवश्यक प्रमाण संकलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।
