कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ मा पोस्टल राजमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मिड–वेस्ट जनसेवा यातायातको बस (भे १ ख ४५५२) र विपरीत दिशाबाट आइरहेको सुपर स्प्लेन्डर मोटरसाइकल (लु प्र ०१–००४ प ३८५६) बीच बिमियामा ठक्कर भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकलाई पाकडी प्रहरी चौकीको टोलीले उद्धार गरी कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा पुर्याएको थियो। उपचारको क्रममा आइतबार राति १ः५० बजे चिकित्सकले उनीहरूको मृत्यु भएको घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन। उनीहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बसका सहचालक २१ वर्षीय सुनिल राना (बाँगड कुपिण्डे नगरपालिका–५, सल्यान) र बस चालक २८ वर्षीय श्याम कुमार कामी (गुर्भकोट नगरपालिका–२, सुर्खेत)लाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक कामी रुपन्देहीमा प्रहरी हिरासतमा रहेको जनाइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
