काठमाडौं उपत्यकाको गर्मी, धुँवा र धुलोबाट राहत खोज्नेहरूका लागि नुवाकोटको शिवपुरी गाउँपालिका–४ मा रहेको लखिनश्वरी झरना उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ। राजधानीको नयाँबानेश्वरबाट करिब ३४ किलोमिटर दूरीमा रहेको यो झरना डेढ घण्टाको यात्रामै पुग्न सकिन्छ।
टोखा–झोर हुँदै गजुरे भञ्ज्याङको बाटो हुँदै जाँदा यहाँसम्म पुग्न सहज हुन्छ। बाटोमा करिब ६ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ भने बाँकी कालोपत्रे छ। मोटरसाइकल र जिपमा सजिलै यात्रा गर्न सकिन्छ। झरना सडकसँगै भएकाले धेरै हिँड्न नसक्ने व्यक्तिहरूका लागि पनि पुग्न सहज छ।
यो झरना शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको घना जंगलको बीचमा अवस्थित छ। त्यहाँको पानी शिवपुरीबाटै बगेर आउने भएकाले अत्यन्त स्वच्छ, शीतल र कञ्चन छ। वरिपरि अन्य साना–ठूला झरना पनि छन्। हाल दिनहुँ सयौं आन्तरिक पर्यटक गर्मी छल्न यहाँ पुग्छन्। बिहानै गएर दिनभर रमाएर साँझ फर्किन सकिने यो गन्तव्य युवाहरूमाझ लोकप्रिय छ।
तस्वीर र भिडिओ खिच्न रुचि राख्नेहरूका लागि पनि लखिनश्वरी झरना उपयुक्त स्थान हो। यहाँको प्राकृतिक वातावरण र मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाउँछ। यात्राको लागि सरल पहुँच र स्वच्छ पानीको कारण यो सबै उमेर समूहका लागि उपयुक्त छ।
