दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुको सुविधालाई ध्यानमा राख्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुर कोप्चेदेखि बराह क्षेत्रसम्मको जलयात्रा सेवा फेरि सुरु गरिएको छ। आइतबारदेखि यो सेवा सञ्चालनमा आएको हो।
अरुण र दूधकोशी नदीमा पक्की पुल नभएका कारण दक्षिणी भेगका स्थानीयले लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका थिए। जेटबोट सञ्चालनमा आएपछि उनीहरूलाई आउजाउ गर्न सहज भएको छ। गत जेठ महिनाको अन्त्यतिर नदीमा पानीको बहाव बढेपछि यो सेवा बन्द गरिएको थियो।
हतुवागढी–९ कोप्चेका स्थानीय व्यवसायी मिलन राईका अनुसार कोप्चेदेखि बराह क्षेत्रसम्म यात्रा गर्न ५०० रुपैयाँ भाडा तोकिएको छ। दक्षिणी भोजपुरका बासिन्दा जेटबोटमार्फत धरान, इटहरी र विराटनगरलगायतका सहरसम्म पुग्ने गरेका छन्।
यसअघि चतरा पुग्न तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था थियो। अहिले करिब १९ किलोमिटरको दूरी जेटबोटबाट २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ।
पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउने लक्ष्य
हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ। गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउनेछ।







