कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । दसैँ–तिहारका बेला घुमफिर गर्न आउने पर्यटकलाई ध्यानमा राखेर मङ्गलबारदेखि निकुञ्जमा सफारी सञ्चालनमा आएको हो ।
बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि पर्यटकका लागि मुख्य रुट भने खोलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार सफारी खुलेसँगै दसैँका बेला पर्यटकले शुक्लाफाँटाको अवलोकन गर्न पाउनेछन् ।
सफारीका लागि मझगाउँबाट बाबाताल र रानीताल हुँदै शुक्लाफाँटाको घाँसे मैदानसम्म पुग्ने, त्यहाँबाट बर्कौला हुँदै फेरि मझगाउँ फर्किने बाटो खोलिएको छ । यो रुट प्रयोग गरेर पर्यटकले निकुञ्जको विशाल घाँसे मैदानसम्म पुगी वन्यजन्तु अवलोकन गर्न सक्ने वाग्लेले बताए ।
वर्षा नरोकिए पनि एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ । यसैबीच निकुञ्जले फाटाँमा २० हेक्टर क्षेत्रमा घाँस व्यवस्थापनको काम अघि बढाइरहेको छ ।
वन्यजन्तुका लागि प्रख्यात
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रख्यात मानिन्छ । निकुञ्जको घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ ।
निकुञ्जमा दुई हजार ३०० बाह्रसिङ्गा रहेका छन् भने पाटेबाघको सङ्ख्या ५० रहेको जनाइएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिका हिसाबले पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज परिचित छ ।







