सुर्खेत । कोपिला भ्याली स्कुलमा विद्यार्थीका लागि करियर मार्गदर्शन कार्यक्रमको नेतृत्व गर्दै आएकी प्रतिक्षा भण्डारीलाई सन् २०२६ को हेरिजन अवार्ड प्रदान गरिएको छ। बिजनेस इन्टेलिजेन्स ग्रुपद्वारा दिइने यो सम्मान इमर्जिङ लिडर कोटिमा उनले हासिल गरेकी हुन्।
कार्यस्थल तथा समुदायमा परिवर्तन ल्याउने महिला नेतृत्वको पहिचान गर्दै यो अवार्ड दिइन्छ। आयोजकका अनुसार यस वर्ष पाँच नोमिनी भूमिका र चार देशका गरी ५७ जना विजेता छनोट भएका छन्।
कोपिला भ्याली स्कुलकी फ्युचर्स प्रोग्राम एसोसिएट म्यानेजरसमेत रहेकी भण्डारी र उनको टोलीले ग्रामीण नेपालका विद्यार्थीलाई आफ्ना क्षमता चिन्न, करियरका सम्भावना खोज्न तथा उच्च शिक्षातर्फ अघि बढ्न सहयोग गर्दै आएको छ।
यस क्रममा करियर परामर्श, इन्टर्नसिपको व्यवस्थापन, छात्रवृत्ति, सामुदायिक सेवा–सिकाइ परियोजना र स्थानीय सन्दर्भमा आधारित सिकाइमार्फत विद्यार्थीलाई सघाइन्छ। साथै सहकार्यमा सञ्चालन गरिएको मेकर स्पेसले विद्यार्थीलाई व्यावहारिक सीप विकास गर्न र आफ्ना रुचि पहिल्याउन सहज बनाएको जनाइएको छ।
३४९ पहिलो पुस्ताका विद्यार्थी
संस्थाले उपलब्ध गराएको विवरणअनुसार फ्युचर्स टोलीले औपचारिक करियर मार्गदर्शन सीमित रहेको क्षेत्रमा ३४९ जनाभन्दा बढी पहिलो पुस्ताका विद्यार्थीलाई सहयोग गरेको छ।
बिजनेस इन्टेलिजेन्स ग्रुपका चिफ रेकग्निसन अफिसर रस फोर्डाइसले भण्डारीको प्रयासले ग्रामीण नेपालका युवालाई आफ्नो भविष्य निर्माण गर्ने अवसरमा पहुँच दिलाउन र समुदायमा परिवर्तन ल्याउन टेवा पुगेको बताएका छन्।
भण्डारीले भने यो उपलब्धिको श्रेय कोपिला भ्याली स्कुल र ब्लिंकनाउ टोलीलाई दिँदै यसले समुदायसँगको सहकार्य अझ विस्तार गर्न हौसला मिलेको प्रतिक्रिया दिएकी छन्।
बर्दियाको राजापुरमा हुर्किएकी भण्डारीले जनस्वास्थ्य विषयमा स्नातक र काठमाडौंको किङ्स कलेजबाट एमबीए गरेकी छन्। कोपिला भ्याली स्कुलमा जोडिनुअघि उनी टिच फर नेपालमा फेलोका रूपमा काम गरेकी थिइन् र ब्लुम नेपाल फाउन्डेसनमा कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेकी थिइन्।
कम सुविधा भएका समुदायका विद्यार्थीका लागि करियर मार्गदर्शन र शैक्षिक अवसरको दायरा फराकिलो बनाउन पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।







