कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका टोल नजिकै महाकाली नदीको बीच भागमा रहेको टापुमा फसेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको थियो।
काभ्रेपलाञ्चोक जिल्लाका ५२ वर्षीय उमेश चौलागाई स्थानीय आफन्तको घरमा आएका थिए। शनिबार बिहान करिब साढे सात बजे उनी महाकाली नदीको अवलोकन गर्न बगरसम्म पुगेका थिए। त्यसै क्रममा नदीमा पानीको बहाव एक्कासी बढेपछि उनी टापुमा फसेका थिए। उनको गुहार सुनेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार चौलागाई झोलुङ्गे पुलबाट करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेको अवस्थामा भेटिएका थिए। उद्धार टोलीले तत्कालै उनलाई सुरक्षित निकालेको उनले बताए।
मनसुन सक्रिय भएसँगै महाकाली नदीमा पानीको सतह र बहाव बढ्दै गएकाले सुरक्षा निकायले नदी आसपासको क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

